- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमसीसी सम्झौता आफ्नो दलको सरकारले नगरेकाले पास गर्ने जिम्मा पनि आफ्नो दलको नभएको बताएका छन् ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफसहित आफ्नो धारणा राख्दै ओलीले एमसीसी सम्झौता आफ्नो दल नेतृत्वको सरकारले नगरेको र पास गर्ने जिम्मा पनि आफ्नो दलको नभएको बताए ।
‘एमसीसी सम्झौता हामीले गरेका पनि होइनौं, पास गर्ने जिम्मा पनि हाम्रो होइन, के गर्ने कसरी अघि बढ्ने भन्ने विषयमा धारणा बनाउन हतार छैन,’ ओलीले दलको बैठकमा बोल्दै भने ।
सो क्रममा उनले एमसीसीसँग सम्वन्धित विषयमा आवश्यक अध्ययन गर्ने र सबैको राय अनुसार पार्टीले निर्णय लिने बताए । तर देश र जनताको धारणा भन्दा एमाले फरक रुपमा अघि नबढ्नेमा भने उनले ढुक्क रहन सांसदहरुलाई आग्रह गरे ।
बैठकमा एमालेले कारवाही गरेका १४ सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भए सदन चल्न नदिने चेतावनी समेत दिएको छ । सो अवसरमा ओलीले पार्टीले कारवाही गरेका माधवकुमार नेपालसहित १४ सांसद सहभागी भए सदनको क्रियाकलाप अगाडि बढाउन नदिने चेतावनी दिए । आफ्नो दलले कारवाही गरेका सांसदलाई सभामुख अग्नी सापकोटाले बचाएर पार्टी फुटाउन खोजेको आरोप ओलीले लगाए ।