- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । नेपाली काँग्रेसको महाधिवेशनको पहिलो खुड्किलोको रूपमा रहेको गत भदौ २१ गते नवलपुरमा सम्पन्न वडा तहको अधिवेशनबाट अधिकांश वडाको सभापतिमा युवा पुस्ताको नेतृत्व आएको छ । जिल्लाको ९२ वडा मध्य अधिवेशन सम्पन्न भएका ९१ वडा मध्ये पचास प्रतिशत भन्दा धेरै वडाहरूमा युवा पुस्ता सभापतिमा चयन भएका काँग्रेस जिल्ला सभापति विष्णु लामिछानेले बताए ।
निर्वाचन अधिकृतहरूले निर्वाचित भएका वडा कार्यसमितिहरू र क्षेत्रीय प्रतिनिधीहरुको नामावली बुधवार साँझ सम्म उपलब्ध गराउने भएकाले आधिकारिक सङ्ख्या आईनसके पनि ५० प्रतिशत भन्दा धेरै वडा सभापति र सोही अनुपातमा युवा पुस्ताहरू क्षेत्रीय प्रतिनिधिमा चयन भएको लामिछानेको दाबी छ । वडा तहको निर्वाचनबाट अधिकांश वडामा युवा पुस्ताको वर्चस्व रहनु सुखद रहेको सभापति लामिछाने बताउँछन् । “वडा तह देखिनै युवाहरूको आधाभन्दा धेरै प्रतिनिधित्व हुनुले काँग्रेसमा युवा पुस्ताको आकर्षण थप बढेको देखाएको छ, यसले गर्दा आगामी दिनमा अग्रजको अनुभव र युवाहरूको जोस र जाँगरले पार्टीलाई थप बलियो र जनताको निकट बनाउँछ,” लामिछानेले भने ।
युवा पुस्ता उत्पादन, व्यवसाय सँग जोडिएको र आय आर्जनमा लागेर आत्म निर्भर भएको , आत्म निर्भर युवा नेपाली काँग्रेसको राजनीति मार्फत समाज परिवर्तनका लागी उन्मुख हुनु सिङ्गो काँग्रेस र देशका लागी सुखद भएको प्राध्यापक एवं राजनीतिक विश्लेषक झपेन्द्रस्वर भुसाल बताउँछन् । काँग्रेसको वर्तमान अधिवेशनले काँग्रेसको स्थानीय तहहरूको नेतृत्वमा नयाँ पुस्ताको प्रवेश सँगै पुस्ता हस्तान्तरण तल्लो तहबाटै सुरु भएकोले काँग्रेसको आन्तरिक जीवनका लागी यो सुखद रहेको भुसालको धारणा थियो ।
जिल्लाका अधिकांश वडामा युवा पुस्ताको प्रवेशले अब काँग्रेसको बागडोर सम्हाल्न युवा पुस्ता तयार रहेको सन्देश वडा अधिवेशनहरूले दिएको तरुण दल नवलपुरका सभापति सूर्य गुरुङ बताउँछन् । “यो नेतृत्वका लागी युवा तयार छ भन्ने सन्देश हो, काँग्रेस नेतृत्व तहमा युवाको सहभागिताले काँग्रेसमा युवाको आकर्षणमा कमी छैन भन्ने सन्देश हो,” गुरुङले भने ।
जिल्लाका अधिकांश वडाहरूमा सभापति सहित क्षेत्रीय प्रतिनिधिमा युवा विद्यार्थीको प्रतिनिधित्वले काँग्रेसमा थप ऊर्जा प्रदान गरेको बताउँदै नेविसंघ नवलपुरका सभापति राजेश पौडेलले काँग्रेसको आन्तरिक राजनीतिमा बिस्तारै युवा पुस्ताको हस्तक्षेप बढ्दै जानु काँग्रेसका लागी सुखद भएको धारणा व्यक्त गरे ।
कुल ९२ वडा रहेको नवलपुरमा गत ९१ वडामा अधिवेशन सम्पन्न भएको छ । आन्तरिक विवादका कारणले रोकिएको हुपसेकोट वडा नं ३ को अधिवेशन भदौ २७ गते सम्पन्न हुने काँग्रेस नवलपुरले जनाएको छ । जिल्लाका कुल ९२ वडा बाट वडा सभापति सहित १८४२ भन्दा धेरै प्रतिनिधिले नगर, प्रदेश निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा भाग लिन पाउने व्यवस्था काँग्रेसको विधानले गरेको छ ।