- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सोलुखुम्बु । नेपाली काँग्रेसको जारी १४ औँ अधिवेशनमा हिमाली जिल्ला सोलुखुम्बुमा पनि धेरै युवाहरू नेतृत्वमा चयन भएका छन् । ‘काँग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिवेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरू चयन भएका हुन् । वडा अधिवेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाँल खुल्ला महिला प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।
जिल्लाको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ मा भएको चुनावी प्रक्रियाबाट सबैभन्दा धेरै मत ल्याएर प्रतिस्पर्धी सबैलाई उछिन्दै २१ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी हुन् । २ सय ६३ मत खसेकोमा पुजाले सबैभन्दा धेरै अर्थात् २ सय २ मत प्राप्त गरिन भने सोही वडाबाट काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीकी सहोदर बहिनी सरस्वती केसी भण्डारी ८९ मत मात्र प्राप्त गरेर पराजित हुन पुगिन् । उनी सँगै खुल्ला महिलाको ५ सिटका लागि प्रतिस्पर्धामा रहेकी काँग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कुमारीदेवी शर्माले १ सय ४० मत मात्र प्राप्त गरेर क्षेत्रीय प्रतिनिधिमा जितिन ।
९ कक्षामै पढ्दा हिमाल दर्शन मावि नेचाको नेविसंघ इकाई सभापति बनेकी पूजा उच्च शिक्षा अध्ययनको क्रममा विसं.२०७३ सालमा सानोठिमि क्याम्पस भक्तपुरको स्ववियु सदस्यमा निर्वाचित भइन । अहिले उनी नेविसंघ सोलुको कोषाध्यक्ष र जिपि कोइराला फाउन्डेसनको जिल्ला सहसचिव छिन् । लगातार पूर्ण कालिन राजनीतिमा लागेकी उनी यो पटक धेरै मत ल्याएर जित्दा निकै दङ्ग छिन् ।
‘मैले सहमतिमा मलाई एउटा क्षेत्रीय प्रतिनिधिमा पठाउनुस् भनेर सबै नेता तथा पार्टीका अगुवालाई भने तर वहाँहरूले मलाई अन्य पदमा राख्ने आश्वासन दिएर नपठाउने कुरा गर्नुभयो’ उनले भनिन्, ‘चुनावमा गए पछि मलाई ९० प्रतिशत क्रियाशीलले माया गरेर जिताउनु भयो ।’ क्षेत्रीय प्रतिनिधि जितेसँगै राजनीतिमा युवाहरूको भविष्य प्रति आशा जागेको उनको बुझाई छ । ‘काँग्रेसमा ५० कटेकालाई युवा नेता मान्नु पर्ने विवशतालाई अब हाम्रो पुस्ताले तोड्नु पर्छ’ पूजाले भनिन्, ‘अब काँग्रेसलाई पुनर्जीवन दिने जिम्मेवारी हाम्रो काँधमा छ, अग्रज पुस्तालाई सम्मान सहित मार्ग दर्शक ठान्ने हो, नेतृत्व हाम्रो पुस्ताले लिने हो ।’
उनलाई राजनीति गर्न परिवारको पृष्ठ भूमिका कारा पनि सहज भएको हो । उनको हजुर बाबा लीला राज फुयाँल नेपाली काँग्रेसको तर्फबाट गाविस अध्यक्ष निर्वाचित भए भने उनका बुवा यादव फुयाँल नेपाल शिक्षक सङ्घको गाउँपालिका अध्यक्ष छन् ।
५२ वटा वडा रहेको सोलुखुम्बुमा जम्मा २ वटा वडामा मात्र चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो । चुनाव भएको नेचासल्यान गाउँपालिका नेपाली काँग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको वडा हो ।