एमसीसीकी उपाध्यक्षलाई ओलीको जवाफ : ‘सत्ता पक्ष पहिले प्रष्ट होस्’
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
512
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे पहिले सत्ता पक्ष स्पष्ट हुनु पर्ने बताएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोलीसँगको वार्तामा एमाले अध्यक्ष ओलीले सो विषयमा पहिले सत्ता पक्ष स्पष्ट हुनु पर्ने बताएका हुन् ।
ओलीसँग छलफलका लागि अमेरिकाबाट आएको एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोली उनकै निवास बालकोट पुगेको थियो । सो भेटका क्रममा उपाध्यक्ष फातिमाले एमसीसीमा सघाउन ओलीलाई आग्रह गरेकी थिइन् ।
भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने अध्यक्ष ओलीले सत्ता गठबन्धनले धारणा स्पष्ट पारेपछि आफ्नो दलले पनि धारणा दिने जवाफ दिएको जानकारी दिएका हुन् । ‘सत्ता पक्षले एमसीसीका विषयमा हामीसँग कुनै परामर्श गरेको छैन, हामीले हतारिएर पोजिसन बनाउँदैनौ, सत्ता पक्षको पहिले स्पष्ट धारणा आओस्, त्यसपछि हामी धारणा दिन्छौँ,’ अमेरिकी प्रतिनिधिमण्डल टोलीलाई ओलीले जवाफ दिँदै भनेका छन् । सो क्रममा ओलीले एमसीसीका विषयमा सत्ता पक्षले आफ्नो दलसँग कुनै परामर्श नै नगरेकोसमेत बताएका थिए ।
एमसीसी उपाध्यक्षले भने अनुमोदनको प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् । भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागी थियो । एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल, सूर्य थापा लगायत सहभागी थिए ।