- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। २० जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन नै हुन नसकेपछि नेपाली काँग्रेसले महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका फेरी संशोधन गरेको छ।
शुक्रवार बसेको काँग्रेस पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले गाउँ-नगरपालिका अधिवेशनदेखि जिल्ला अधिवेशनसम्मको नयाँ मिति प्रस्ताव गरेका हुन् ।
प्रदेश र केन्द्रको तोकिएकै मितिमा अधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव गरिएको काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका हुन्।
सहमहामन्त्रीका अनुसार क्रियाशील सदस्यता नामावली सार्वजनिक नभएका २० जिल्लामा ५ असोजमा वडा अधिवेशन तय गरिएको छ। २७ भदौका लागि तय पालिका अधिवेशन असोज ९ गते तोकेको छ।
यस्तै यसअघि १ असोजका लागि तय भएको प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज, ५ असोजका लागि तय गरिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन १५ असोजका लागि तोकेको छ।
यसै गरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १० असोजका लागि तय भएकोमा सारेर १८ असोजका लागि तोकेको छ।
१० देखि १२ कार्तिकमा गर्ने गरी तय गरिएको क्षेत्रीय अधिवेशन सोही मितिमा हुने छ। यस्तै ९ देखि १३ मङ्सिरका लागि तय केन्द्रीय महाधिवेशन पनि तोकिएकै मितिमा हुने छ।