arrow

मुख्यमन्त्रीलाई गिज्याउँदै नारायणघाट-बुटवल सडक खण्ड

logo
सञ्जय भट्टराई, 
प्रकाशित २०७८ भदौ २५ शुक्रबार
sanjay-bhattrai-article.jpg

सङ्घीयता पछि २ वटा सङ्घीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा साबिक नवलपरासी हुँदा देखि बाटै जिल्लाले कार्यकारी पद नपाउँदा जिल्ला विकास निर्माणको हिसाबले पछि परेको आम चासोको विषय थियो । केन्द्रमा जुन दलको सरकार भए पनि जिल्लाका माननीयहरूको पहुँच नहुँदा जिल्ला ओझेलमा परेको विषय विगतका दिनमा प्रशस्तै उठ्ने गरेका थिए ।

यसै बिच गत जेठ २८ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नवलपुरबाट प्रदेशसभामा निर्वाचित कृष्णचन्द्र नेपालीले कार्यभार सम्हाल्दै गर्दा सिङ्गो जिल्लावासी खुसी भएका थिए । जिल्लाको गैँडाकोट स्थायी घर भएका नेपाली यति बेला गण्डकी प्रदेशको मुख्यमन्त्री छन्, जिल्लाबाट प्रतिनिधित्व गरेका सांसद मुख्यमन्त्री हुँदा जिल्लावासीमा विकास निर्माण लगायतका विषयमा अपेक्षा विगतका दिनमा भन्दा बढ्नु स्वाभाविक नै हो ।

थप विकास निर्माणका काम अगाडी बढाउन र जन अपेक्षा पुरा गर्न मुख्यमन्त्री नेपालीले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारले बजेट मार्फत जिल्लामा धेरै कार्यक्रमहरू ल्याएको विषयलाई नकार्न पनि सकिँदैन तर विगत ३ वर्ष अगाडी ठेक्का सम्झौता भएर काम सुरु गरिएको नारायणघाट बुटवल सडक खण्डले भने यति बेला मुख्यमन्त्रीलाई गिज्याएको भान भएको छ ।

मुख्यमन्त्री भए पछि पनि पटक पटक जिल्ला भ्रमणमा आएका नेपाली जिल्ला सदरमुकाम देखि जिल्लाका अन्य पालिकाहरूमा पुग्नका लागी प्रयोग गर्ने मुख्य सडक जुन आफैमा देशको मुख्य राजमार्ग हो, यसको अवस्थाबाट मुख्यमन्त्री नेपाली जानकार छैनन् भनियो भने त्यो आफैमा हास्यास्पद हुन्छ । मुख्यमन्त्री नेपालीका निजी सचिव, स्वकीय सचिव, राजनीतिक सल्लाहकार नवलपुर घर भएका व्यक्तित्वहरू छन्, मुख्यमन्त्रीको दल नेपाली काँग्रेसबाट निर्वाचित २ जना प्रदेश सांसद जिल्लाबाट छन् तर नारायणघाट बुटवल सडक खण्डको दुरावस्थाबाट मुख्यमन्त्रीको ध्यानाकर्षण भने भएको देखिँदैन ।

पङ्क्तिकारले यति लेखि रहँदा नारायणघाट बुटवल सडक खण्डको जिम्मा प्रदेश सरकारको नभएर सङ्घीय सरकारको भन्ने पनि आउन सक्छ । पक्कै पनि साढे तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पछि भएपछि २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा ४ लेन दाइउन्नेमा ३ लेन बिस्तार गर्ने गरी १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो ।

साढे तीन वर्षमा काम सक्नका लागि हरेक महिना २.५ प्रतिशतका दरले काम सम्पन्न हुनु पर्नेमा ३ वर्षको अवधिमा ८.५ प्रतिशत मात्रै काम सम्पन्न हुँदा दैनिक रूपमा पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक खण्ड भएर यात्रा गर्ने हजारौँ यात्रुहरू र सडक छेउमा घर भएका जनताले सास्ती व्यवहारेको, दुःख पाएको विषयमा मुख्यमन्त्रीले चासो लिने कि नलिने भन्ने प्रश्न गम्भीर रूपले उठेको छ ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनलाई ३ वर्षमा काम सम्पन्न गर्ने गरी सङ्घीय सरकारले ठेक्का दिएको यसको निरीक्षण अनुगमन मुल्याङकन लगाएका जिम्मा सङ्घीय सरकारको हो तर जिल्लाबाट निर्वाचित भएर मुख्यमन्त्री बनेका नेपाली लगायत जिल्लाका सङ्घीय सांसद, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि आम चासाको विषयलाई लिएर सङ्घीय सरकारको ध्यानाकर्षण गराउने, निर्माण कम्पनीलाई समयमै काम गर्न सचेत गराउने विषयमा भने मौन रहनुले जनता प्रति उत्तरदायी भएको भने मान्न सकिँदैन ।

यति बेला सङ्घीय सरकारको नेतृत्व मुख्यमन्त्री नेपालीको दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन् । पार्टीका महामन्त्री शशाङ्क कोइराला जिल्लाबाट निर्वाचित सङ्घीय सांसद छन्, सङ्घीय सरकारको ध्यानाकर्षण गराएर निर्माण कम्पनीलाई द्रुत गतिमा काम गर्न दबाब दिएर जनताको सास्ती कम गर्ने विषयलाई मुख्यमन्त्री नेपालीले चासोका साथ अगाडी बढाउनु पर्ने आम नवलपुरवासीको चाहना र अपेक्षा रहेको छ ।

सडक निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले पटक पटक स्थानीय प्रशासनलाई नटेरेको खबरहरू आइरहँदा यो विषयलाई विशेष गरी मुख्यमन्त्री नेपालीले नै गम्भीरता पूर्वक लिएर सङ्घीय सरकार मार्फत निर्माण कम्पनीको ध्यानाकर्षण गराएर निर्माण कार्य द्रुतगतिमा अगाडी बढाउने तर्फ पहलकदमी लिनु पर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ