- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस सबै नेपालीको साझा फूलबारी भएकाले समानुपातिक प्रतिनिधित्व बढाउन माग गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको धर्ना तथा आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै युवा नेताहरुले उनीहरुको माग अभिलम्ब सम्बोधन गर्न आग्रह गरेका छन् ।
डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगनकुमार थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले संयुक्त प्रेस विज्ञप्ति जारी निर्धारित समयमा चौधौं महाधिवेशनको सुनिश्चितताका लागि पाँच बुँदे ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले देशभरका ५८ जिल्लामा अधिवेशनका प्रक्रियाहरु जारी रहे पनि काठमाडौं लगायत १९ जिल्लाको क्रियाशील सदस्यहरुको सूचीअहिलेसम्म सार्वजनिक नभएकाले एकैपटक अधिवेशन शुरु हुने परम्परालाई खण्डित तुल्याएको आरोपसमेत सभापति शेरबहादुर देउवालाई लगाएका छन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘पार्टी विधान र देशको संविधानमा उपलब्ध समयसीमा नाघ्दासमेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै दुखद पक्ष हो ।’
सभापति देउवाको गृह जिल्ला डडेल्धुरामा विधि र प्रक्रिया विपरीत केन्द्रबाट थोपरिएका क्रियाशील सदस्यहरु खारेज गरी विधिसम्मत रुपमा जिल्लाबाट पठाइएका क्रियाशील सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुचारु गर्नु पर्ने जिल्ला समितिको मागप्रति युवा नेताहरुले समर्थन जनाएका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति (जस्ताको तस्तै)
प्रेस विज्ञप्ति
२०७८–०५–२५
यतिबेला नेपाली कांग्रेस आफ्नो चोधौं महाधिवेशनको प्रक्रियामा सामेल छ।देशभरका ५८ जिल्लामाअधिवेशनका प्रक्रियाहरु जारी छन् तथापि काठमाण्डौ,मोरंग लगायतका १९ जिल्लाको आजसम्म पनि कृयाशिल सदस्यको सुची सार्वजनिक गरिएको छैन र अधिवेशनको प्रक्रिया प्रारम्भ हुन सकेको छैन।यसले देशभर एकैपटक शुरुहुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको छ र अधिवेशनको आयोजनामा समेत बिभेद भएको छ।पार्टी बिधान र देशको संविधानमा उपलब्ध समयसिमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन शुरु हुन नसक्नु साच्चै दुखद पक्ष हो ।यस्तै अधिवेशनका क्रममा अरु पनि घटनाक्रमहरु बिकसित हुन थालेका छन् ।आज मात्रै अधिवेशन तालिका संशोधन गरि स्थानीय तहका अधिवेशन हरु पर सारिएको छ। यी सबैे घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ।यसै सन्दर्भमा निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताकालागि तपसिलका बिषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छौं।
१.पार्टीको केन्द्रीय कार्यालय सानेपामा अधिवेशनको प्रकृया शुरु भैसक्दा पनि धर्ना ,अनसन चलिरहने अवस्थालाई सुखद घटनाको रुपमा लिन सकिदैन ।नेपाली कांग्रेस सबै नेपालीको साझा फूलबारी भएकाले समानुपातिक प्रतिनिधित्वको माग गरिरहनु भएका साथीहरूको मागप्रति हाम्रो ऐक्यबद्धता छ। यसको अबिलम्ब सम्बोधन होस्।
२.डडेल्धुरा जिल्लामा विधि र प्रक्रिया बिपरित केन्द्रबाट थोपरिएका कृयाशिल सदस्यहरु खारेज गरि बिधिसम्मत रुपमा जिल्लाबाट पठाईएका कृयाशिल सदस्यहरुको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुचारु गरियोस् भन्ने माग गरिरहेको जिल्ला कार्यसमितिको आग्रह बमोज़िम कार्यसमितिको सम्मतिमा बिधिसम्मतजिल्ला अधिवेशन गराईनुपर्छ भन्ने हाम्रो आग्रह छ।
३.देशभर अधिवेशनको प्रकृया शुरु भईसक्दा पनि केही जिल्लाको कृयाशिल सदस्यको सुची प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नैं प्रभावित हुन पुग्दा सम्बन्धित जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पिडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सुचारु गर्न बाँकी रहेका जिल्लाको कृयाशिल सदस्यहरुको नामावली अबिलम्व प्रकाशित गरि वडा अधिवेशन सम्पन्न गरियोस् ।
४.यसैबीच पार्टीको केन्द्रीय निर्वाचन समितीका संयोजक श्री महादेव प्रसाद यादवले दिनु भएको राजिनामाले महाधिवेशनको जारी सम्पूर्ण प्रकृया नैं अबरुद्द हुने त होइन रु भन्ने संशय बढाएको छ।साथै उहाँले बिभिन्न संचार माध्यममा दिनुभएको अभिव्यक्तिले व्यक्तिको स्वतन्त्रता र मानव अधिकार माथि किन प्रहार हुदैछ भन्ने गम्भिर प्रश्न उठाएको छ।यसको तुरुन्त अन्त्य गरि महाधिवेशनको सुनिश्चितताको बिश्वसनियता कायम गरियोस् ।
५.उपरोक्त सबै घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला होइनन् ,नेपाली कांग्रेसका झण्डै नौलाख सदस्यहरुका साझा मामला,चिन्ता र सरोकार हुन्।यी सबै बिषयहरु निरुपण गरि महाधिवेशन तर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता भएकाले केन्द्रीय समितिको बैठक अबिलम्ब राखियोस्।
जय नेपाल !
डा।चन्द्र भण्डारी ,धनराज गुरुङ कमला पन्त ,रत्ना शेरचन,गुरुराज घिमिरे,गगन थापा,बद्री पाण्डे,सरिता प्रसाईं ,जिवन परियार ,प्रदिप पौडेल,रामकृष्ण यादव,किरण यादव