- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस यतिबेला १४औं महाधिवेशनको महासंग्राममा छ । करिब ५४ जिल्लामा वडा तहको नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन सकेर गाउँ नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयनका लागि प्रक्रिया अघि बढेको छ । नेता तथा कार्यकर्ताहरुलाई अधिवेशनको चटारो छ । गाउँ-शहरमा पाकादेखि तन्नेरीसम्मलाई महाधिवेशन व्यस्त गराएको छ । शहरमा क्याम्पस पढ्न छिरेका विद्यार्थीहरु अधिवेशनका लागि गाउँ गएका छन् ।
नेपालको राजनीतिमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धा र अस्थिरताका कारण युवा पुस्ता निराश भएको समाचारहरु आइरहे पनि कांग्रेस महाधिवेशनमा भने युवाहरुको आकर्षण देखिएको छ । देशभर भइरहेको कांग्रेसको वडा अधिवेशनमा युवाहरुको उपस्थिति उलेख्य देखिएको छ ।
कांग्रेसमा युवा आकर्षणहरुको आकर्षण देखिनुले पाका पुस्ता विस्तारै पाखा लाग्ने संभावना बढेर गएको छ । १३ औं महाधिवेशनमा भन्दा दोब्बरको क्रियाशील सदस्य संख्या बढेको तथ्याकंलाई हेर्दा पनि युवाहरुको संख्या उल्लेख्य देखिन्छ । पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध तथ्याकं अनुसार कांग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७, २६ देखि ४० वर्ष उमेर समूहका दुई लाख ४९ हजार ७७४ जना सदस्य छन् । यसरी हेर्दा कांग्रेसमा युवा क्रियाशील सदस्यहरुको संख्या दुई लाख ९० हजार २०१ पुगेको छ।
कांग्रेस स्थापना भएकै समयमा जन्मिएका शेर बहादुर देउवाले नेतृत्व गरिरहेको हालको कांग्रेसमा युवा आकर्षण बढ्नुलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा नयाँ पालुवा जन्मिएर परिवर्तन खोज्नुलाई राजनीतिले नै मुलुकको भविष्य निर्माण हुन्छ भन्ने प्रमाणित भएको व्याख्या गर्छन् । कांग्रेसमा युवाहरुको आकर्षणलाई ‘नयाँ पालुवा’को उपमा दिएका शर्माले देशको मुहार बदल्न राजनीतिको मुहार बदलिनुपर्ने बताउँछन् । उनी भन्छन्,‘नेपाली कांग्रेसमा मात्र होइन सिंगो राजनीतिक क्षेत्रमा तागत बोकेका युवाहरुको सार्थक हस्तक्षेपले मुलुकले पनि नयाँ गति पाउनेछ ।’
कांग्रेस नेता प्रदिप पौडेल देशभर हालसम्म सकिएको वडा अधिवेशनमा युवाहरुको उपस्थितिले कांग्रेसको भविष्य थप उज्वल बनाएको बताउँछन् । उनी भन्छन्, ‘वडा सभापतिमा निर्वाचित स्वस्तिका महत युवा प्रतिनिधि आवाज मात्र हु्न । उनीजस्ता धेरै युवाहरु कांग्रेसको नेतृत्व र निर्णायक तहमा देखिनु गर्वको कुरा हो’,उनले अगाडि भने, अबको युग चुनौतिको युग हो, त्यसैले अबको यात्रा पुरानो पुस्तालाई सम्मान गर्दै युवाहरुले बैचारिक हस्तक्षेप गर्नु जरुरी देखिसकेको छ ।’
१४औं महाधिवेशनमा आइपुग्दा नेपाली कांग्रेसमा अब ‘बीपीको युग’ शुरु भएको भनेर पनि व्याख्या गरिन थालेको छ । किनकी नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला प्रजातन्त्र प्राप्तीको संघर्षमा १५ बर्षको कलिलो उमेरमै जेल जीवन विताएर ४४ बर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भइसकेकाले राजनीतिमा बीपीले देखाएको आकर्षण हालका पुस्ताले अनुशरण गर्न खोजेको हो कि भनेर बुझिन थालिएको छ ।
प्रजातन्त्र देखि गणतन्त्र स्थापनासम्मको यात्रामा नेतृत्वदायी भूमिका नेर्वाह गरेको नेपाली कांग्रेस पार्टीमा उमेरका हिसाबले युवाहरुको आकर्षण बढ्नु अस्वभाविक नभएको नेविसंघका पूर्वकेन्द्रीय सदस्य लाओस राईको बुझाइ छ । विचार, क्रियाशीलता र गतिशिलताले नै व्यक्तिलाई पाको र युवा बनाउने भएकाले कांग्रेसमा युवाहरुको आकर्षण बढ्नु अस्वभाविक नभए पनि उत्साहको विषय भने अवश्य भएको राईको भनाइ छ । उनी भन्छन्,‘उमेरले नेटो काटेका दक्षिण अफ्रिकामा नेल्शन मण्डेला राष्ट्रपति बनेको र गिरिजाप्रसाद कोइरालालाई पार्टी तथा सरकारको नेतृत्व गर्न उमेर बाधक नबनेको नजिर हामीसामू रहे पनि युवाहरुले बैचारिक बिद्रोह र क्रियाशीलतामार्फत पार्टीको नेतृत्वमा पुग्ने साहस गर्र्नु उत्साहको विषय हो ।’
हुनत नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया चलिरहेका बेला दैलेख दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ बर्षको कलिलो उमेरमै सर्वसम्मत रुपले वडा सभापतिमा चयन भएकी स्वस्तिका महत, सोलुखुम्बुमा २१ बर्षीया पूजा फुयाँल, ओखलढुंगामा अनुष्का बस्नेत खुल्ला महिला क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि देशभर युवाहरु नेतृत्वमा आइरहेको समाचारले पनि कांग्रेसमा युवा आकर्षण बढेको र ‘बीपीको युग’फर्किएको भनेर ब्याख्या गरिएको छ । २२ बर्षको उमेरमै नेविसंघको केन्द्रीय सदस्य भएकी एलिजा ढकाल दुईचार जना पात्र मात्र चर्चामा आएपनि देशभर सयौं युवाहरु क्षेत्रीय प्रतिनिधि, वडा सभापति मात्र होइन महाधिवेशन प्रतिनिधि नै बनेर आउने दाबी गर्छिन ।
उनी भन्छिन्,‘खासमा नियमिति र विधान सम्मत अधिवेशन हुने हो भने कांग्रेसमा युवाहरुको बाहुल्यता निश्चित छ । अहिले त युवा संगठनहरुमा बुढाहरुलाई नेताहरुले टीका लगाएर नेतृत्व सुम्पने गलत थिति बसाएकाले युवाहरुलाई ब्लक गरिएको छ । निषेध गरिएको छ । अब नियमिति अधिवेशन हुने हो भने युवाहरु नेतृत्वमा आउने संभावना धेरै छ ।’
पार्टीमा युवाहरुको आकर्षणलाई आकंलन गर्दा कांग्रेसको १४औं महाधिवेशनमा पहिलो पुस्ता र तेस्रो पुस्ताबीच प्रतिस्पर्धा हुने देखिएको छ । आसन्न महाधिवेशन युवाहरुका निम्ती ‘चाँदीको घेरा’ बनेर आएको छ । नयाँ नेतृत्वको आगमन नहुँदा एजेण्डा, विचार र क्षमताको दृष्टिले जमेको पोखरी जस्तो भएको पार्टीलाई चलायमान बनाउने अवसर बन्ने संकेतहरु देखा परेका छन् । आसन्न महाधिवेशन युवाहरुका लागि आफूलाई परीक्षण गर्ने, सम्भावना, चुनौति र अवसर प्रदान गर्ने गतिलो माध्यम बनेको छ ।