देउवाको गृह जिल्लामा कांग्रेसमा भाँडभैलो, एकलौटी वडा अधिवेशन गरियो
राम धामी
प्रकाशित २०७८ भदौ २६ शनिबार
872
Shares
डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले विधिवत रुपमा वडादेखि जिल्ला कार्यसमितिबाट पारित गरेर पठाइएका क्रियाशील सदस्यमा थपघट गरेर आफुले अघि सारेका उम्मेदवार भीमबहादुर साउदलाई जिल्ला नेतृत्वमा ल्याउन अन्तिम प्रयास गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादकै बीच एकपक्षीय रुपमा वडा अधिवेशन गराएका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशनका नाममा शुक्रबार जिल्लाका ५२ वटै वडामा भएको अधिवेशनले सबैलाई आश्चार्यचकित तुल्याएको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ ।
पार्टीको आधिकारिक संरचनालाई वेवास्ता गर्दै जिल्ला कार्यसमिति र मातहतका इकाई कार्यसमितिहरुले सदस्यता विवादको टुंगो नलगेसम्मका लागि वडा अधिवेशन स्थगित गर्दा पनि व्यापक सुरक्षाकर्मी परिचालन गरेर एकपक्षीय रुपमा अधिवेशन गरिएको छ ।
जिलाका ५२ वटै वडामा शुक्रबार वडा अधिवेशनको प्रक्रिया अगाडि बढेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । ५२ मध्ये ४२ वडा कार्यसमितिले अधिवेशन स्थगित गर्ने निर्णय गरेको अवस्थामा डडेल्धुरा जिल्ला कार्यसमितिबिरुद्ध गुटबन्दीमा सकृय केहि जिल्लास्तरीय नेताहरुको आदेशमा उनीहरुको गुटमा सकृय कार्यकर्ताहरुलाई भेला गरेर अधिवेशनको नाटक मञ्चन गरिएको नेपाली कांग्रेस अजयमेरु गाउँ कार्यसमितिका सभापति कर्णबहादुर मल्लले बताए ।
निर्वाचन केन्द्रमा बाक्लो मात्रामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले सत्ता र शक्तिको दुरुपयोग गरेर वडा अधिवेशन गरिरहेको जिल्लास्तरीय नेताहरु बताउँछन ।
केन्द्रीय सभापति देउवाले हालसम्म जिल्लामा नेतृत्व स्थापित हुन नदिएको इतिहास रहेको र यसपटक पनि जिल्लास्तरमा बलियो नेताका रुपमा स्थापित सभापति मल्ललाई सिध्याएर आफुले आदेश दिएअनुसार काम गर्ने ब्यक्तिलाई जिल्ला नेतृत्वमा ल्याउन वडा अधिवेशनको नाटक गरिएको नेपाली काँग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्ट बताउँछन ।
सभापति देउवाकै निर्देशन अनुसार हाल डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन् । जिल्ला सभापति कर्णबहादुर मल्ल र केन्द्रीय सभापति देउवाको संरक्षणमा रहेको गुट हाल अस्तित्वमा रहेको कांग्रेस कार्यकर्ताहरु बताउँछन । सभापति देउवाको संरक्षणमा रहेको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्दराज बोहरा, र भीमबहादुर साउदलगायतका जिल्ला स्तरीय नेताहरू छन् ।
जिल्ला कार्यसमितिले नवीकरण र नयाँ क्रियाशील सदस्यताका लागि पाँच हजार आठ सय चार जनाको नामावली पठाएकोमा सभापति देउवाको निर्देशनमा छानबिन समितिले चार सय ४४ जनाको नाम हटाइदिएको र कुनै पनि प्रकृयामा नआएका तीन सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको नेपाली काँग्रेस डडेल्धुराका पुर्व सचिव लोकराज भट्टले बताए ।
सभापति देउवाले क्रियासिल सदस्यता विवादको टुंगो लगाएर मात्रै वडा अधिवेशन गर्ने केन्द्रीय नेताहरुलाई आश्वास्त पारे पनि शुक्रबार एकाएक वडा अधिवेशनका नाममा हाल पार्टीको जिम्मेवारीमा रहेका र पार्टीमा योगदान पु¥याएका नेता कार्यकर्ताहरुलाई पाखा लगाएर अत्याचार गरिएको परशुराम नगरपालिका वडा नं. १२ का सभापति राजबहादुर भण्डारीले बताए । उनले पार्टीमा लामो समयदेखि योगदान पुगाएका कार्यकर्ताहरुको अवमूल्यन भएको र चाकडी चाप्लुसी गर्ने ब्यक्तिहरु हावी हुन थालेको जिकिर गरे ।
सभापति देउवाले वडा अधिवेशनका नाममा गरेको मनोमानीको प्रभाव आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा पर्ने अनुमान गरिएको छ । यसअघि पार्टी भित्रकै विवादका कारण आफ्नो पकड भएको क्षेत्रमा पनि कांग्रेसले चुनाव हारेको थियो । गृहजिल्लामा एकल पकड बनाउँदै आएका सभापति देउवाले आफुभन्दा फरक मत राख्ने र जिल्लामा स्थापित हुन खोज्ने नेताहरुलाई पाखा लगाएको नेपाली काँग्रेसका पाका कार्यकर्ताहरु बताउँछन ।
२०१४ सालमा नेपाली काँग्रेस डडेल्धुराका संस्थापक सभापति एनडीप्रकाश चटौतको हवाई दुर्घटनामा निधन भएपछि हालसम्म कांग्रेस डडेल्धुराको नेतृत्व गरिरहेका सबै जिल्ला सभापतिहरु हाल देउवासँग छैनन् । स्वतन्त्रता सेनानी सत्यराज पनेरु, पाका नेता पीएच भट्ट, डिएल भण्डारी, लामो समय नेपाली कांग्रेस डडेल्धुराको सभापति रहेका नेताहरु हिरादत्त भट्ट, रामचन्द्र चटौत, शेरबहादुर ढाँट सभापति देउवाको कोपभाजनमा पर्ने नेताहरु हुन् ।
पूर्वसभापति भट्टले देउवाको साथ छाडेर पौडेल पक्षको राजनीतिमा सक्रियता देखाएका छन भने चटौत र ढाँटले कांग्रेस परित्याग गरेका छन् । ‘अधिकांस जिल्लास्तरीय नेताहरु लोकप्रियता हासिल गरेकै कारण सभापति देउवाको निशाना परेका छन ।’ पाका कांग्रेस नेता दिर्घराज जोशीले भने,‘जिल्ला राजनीतिमा सम्भावना बोकेका कांग्रेस नेताहरुलाई देउवाले पाखा लगाउने गरेका छन् ।’
क्रियाशील सदस्यता वितरणमा भएको धाँधली र वडा अधिवेशनका नाममा पार्टी संरचनालाई वाईपास गरेर गुटगत भेला सम्पन्न गरिएको विषयमा कांग्रेस डडेल्धुराले सर्वोच्च अदालतमा न्यायका लागि रिट दर्ता गर्ने तयारी गरिरहेको कांग्रेस डडेल्धुराको सभापति पदका आकंक्षी हरिप्रसाद भट्टले बताए । उनले सभापति देउवाबाटै अन्याय सहनु हुन्न भनेर प्रशिक्षण लिएका कार्यकर्ता भएकाले अन्याय सहेर नबस्ने जिकिर गरे ।