arrow

पशुपति क्षेत्रमा रहेको वेदविद्याश्रमलाई विश्वविद्यालय बनाउन पहल गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
nepal-byadasram.JPG

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित नेपाल वेदविद्याश्रमलाई विश्वविद्यालय बनाउन पहल गरिने भएको छ । विद्याश्रमलाई वेदको ज्ञान प्रचार गर्ने र वैदिक अनुसन्धान केन्द्रको रूपमा समेत स्तरोन्नति गरिने जनाइएको छ । 

नेपाल वेद विद्याश्रमले आज (मङ्गलवार) बिहान कोषका नव नियुक्त सदस्य सचिव डा.मिलनकुमार थापालाई स्वागत कार्यक्रम राखेको थियो । कार्यक्रममा कोषका उप निर्देशक सिताराम रिसालले विगत वर्ष देखि नै वेद विद्याश्रमका शिक्षक कर्मचारीहरू करारमा रहेको हुँदा शिक्षक कर्मचारीहरूलाई स्थायित्व दिन नसकेको समस्या पोखे । 

विद्याश्रमका प्रधानाध्यापक विष्णु पोखरेलले हाल सदस्य सचिव रहेका डा.थापा कोषाध्यक्ष रहँदा देखि नै विद्याश्रमको विकासमा अग्रणी भूमिका खेलेको बताए । विद्याश्रमलाई +२ सम्म स्तर उन्नति गराउन डा. थापाले विशेष पहल कदमी गरेको उनले जनाए । हाल पशुपति कोषमा तन्त्र,मन्त्र र यन्त्रको सङ्गम बनेको भन्दै प्रधानाध्यापक पोखरेलले धर्म बुझ्ने र तन्त्रको विज्ञ सदस्य सचिव भएकोमा खुसी व्यक्त गरे । 

कार्यक्रममा सदस्य सचिव डा.थापाले तपोभुमीलाई विश्वमा प्रचार गरी वेद विद्याश्रमलाई वेदको ज्ञान बाँड्ने र प्रचार गर्ने माध्यम बनाउन आग्रह गरे । उनले अब पशुपति क्षेत्रमा रहेका प्रत्येक शिव मन्दिरमा बटुकहरूद्वारा नित्य पूजा गर्न व्यवस्था मिलाउने बताए । 

पशुपति वरिपरिका मन्दिरमा पूजा नहुनु समग्र हिन्दुहरूका लागि दुःखको कुरा हो, अब प्रत्येक शिव मन्दिरमा पूजा हुनुपर्छ, उनले भनेँ । वेद विद्याश्रममा यज्ञ शाला नभएकोमा आफू चिन्तित रहेको र अब तत्काल नित्य हवन गर्ने यज्ञ शाला निर्माण गर्नका लागि कार्य योजना बनाउन पनि निर्देशन दिए । 

डा.थापाले वेद विद्याश्रमलाई नमुना बनाउन आफ्नो कार्य योजना समेत प्रस्तुत गरेका छन् । भने कार्यक्रममा विद्यालयको आन्तरिक व्यवस्था सुधार गर्न सुझाव पत्र समेत हस्तान्तरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ