arrow

कलाकार करुणा पाण्डेको कांग्रेस मोह: १४ बर्षपछि गाउँ पुग्दा मिल्यो पार्टीमा अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
karuna-panday.jpg

काठमाडौं । हुनत करुणा पाण्डे कलाकारिता र व्यवसायमा सक्रिय छिन् । राजनीतिबारे जानकार रहेपनि उनी लामो समय सक्रिय राजनीतिमा हिड्ने फुर्सद भएन् । काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेविसंघको इकाइ सह सचिब भएर अनुभव संगालेकी उनलाई कांग्रेसप्रति वाल्यकालदेखिकै मोह हो ।

यसैबर्ष मात्र क्रियाशील सदस्यता लिएकी उनी नुवाकोट खरानीटारस्थित तादी गाउँपालिका–३ नम्बर वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतले चयन भएपछि कांग्रेसको सक्रिय राजनीतिमा दौड्ने रहर जागेर आएको छ । ‘मेरो पारिवारीक पृष्ठभूमि कांग्रेस हो । रुखलाई भोट हाल्न थालेको दशकौं वित्यो । मैंले कांग्रेसको इतिहास बुझेको छु र अब कांग्रेसमा युवालाई अवसर दिनुपर्छ भन्ने लाग्छ’, उनले भनिन्, ‘तर हाम्रो राजनीतिमा कपाल फुलेका पाका र पैसावालले मात्र अवसर पाउनुपर्छ भन्ने छ । यस्तो परिपाटी युवाहरुले नै अन्त्य गर्नुपर्छ ।’

उमेरले २७ टेकेकी उनी करिब १४ बर्षपछि गाउँ खैरेनीटार कांग्रेसकै अधिवेशनको सिलसिलामा पुगेकी हुन् । तादी गाउँपालिकाका पार्टी सभापति हेमन्त सिटौलाले कलाकारिता र सामाजिक काममा करुणाको सक्रियतालाई देखेर कांग्रेसको क्रियाशील सदस्यता दिलाएका हुन् । ‘म कलाकारितासँगै समाजसेवा पनि गरिरहेकाले अब कांग्रेससँग जोडिन चाहेको हुँ । मेरो पेशा र व्यवसायले पार्टीलाई पनि फाइदा पुगोस भन्ने लक्ष्य हो । किनकी राजनीति भनेको पनि समाजसेवा हो ।’

करुणा आफ्नो जिल्ला नुवाकोटका नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशसरण महत, बहादुरसिंह लामा, केदारनरसिंह केसीलगायत नेताहरुबारे जानकार छिन् । तर नेताहरुको चिल्ला मसिना भाषणले मात्र गाउँको मुहार फेरिन नसक्ने बताउँछिन् । नुवाकोटबाट १४औं महाधिवेशनका लागि कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएर आउने लक्ष्य लिएकी उनी गाउँका नेता तथा कार्यकर्ताहरुसँग नियमित सम्पर्कमा रहेको सुनाइन ।

विभिन्न फेसन सो तथा मोडलिङ गरिसकेकी करुणाले अभिनय गरेका करिब १२ वटा म्यूजिक भिडियो पनि छन् । ‘जय शम्भो’ चलचित्रमा डेब्यू गरेकी उनको अर्को चलचित्र ‘तिम्रो हुने कहिले’ रलिज हुने तयारीमा छ । कलाकारितासँगै हारपिक, फिनेल, प्याडलगायतको उत्पादन गर्ने कारखाना चलाइरहेकी उनी विपतमा परेका नागरिकहरुलाई स्वास्थ्य सामग्रीहरु पनि निःशुल्क उपलब्ध गराइरहेकी छिन् ।

‘मेरो सक्रियता गाउँमा रहनुभएका आफन्त तथा शुभेच्छुकहरुले नियालिरहनु भएको रहेछ । लामो समयपछि एक्कासी वडा अधिवेशनमा पुग्दा सबैले सान्तवना दिनुभयो । अगाडि बढ्न हौसला दिनुभयो । जहाँ बसेपनि गाउँको सेवा गर्न र कांग्रेसमा सक्रिय हुन सुझाव दिनुभयो,’ करुणाले गाउँ पुग्दाको अनुभव सुनाइन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ