arrow

एमालेको प्रश्न : हाउस असोज ४ गते किन सारियो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक स्थगित गरिएको प्रति सरकार र सभामुखलाई प्रश्न गरेको छ । सरकार र सभामुखले संसद् स्थगित गरेर गैर जिम्मेवार पूर्ण व्यवहार देखाएको भन्दै एमालेले विज्ञप्तिमार्फत ‘हाउस असोज ४ गते किन सारियो ?’ भन्दै प्रश्न गरेको हो । 

विज्ञप्तिमार्फत एमालेले संसद् स्थगित गरिनु गैर जिम्मेवार पूर्ण व्यवहार भएको भनेको छ । ‘आफूलाई इच्छा लागेको बिजनेस स्वेच्छाचारी ढङ्गले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैँ हाउस असोज ४ गते किन सारियो ? यसको जवाफ यो गैर जिम्मेवार सरकारले दिनुपर्छ’ एमाले महासचिव ईश्वर पोखरेल द्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

एमालेले आफ्नो दलले कारबाही गरेका १४ जना सांसदको कारबाहीको सूचना सभामुखले संसद्मा नटाँसेको भन्दै २३ भदौबाट सुरु संसद् निरन्तर अवरुद्ध पार्दै आइरहेको छ । विज्ञप्तिमार्फत एमालेले आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय बिताएकोसमेत भनेको छ । 

एमालेले सरकारले ल्याएको प्रतिस्थापन विधेयकले वित्तीय सङ्कटको परिस्थिति सिर्जना हुन पुगेको भन्दै प्रतिस्थापन विधेयकले बजेटको सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लङ्घन गरेको भनेको छ । एमालेले प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिएको समेत विज्ञप्तिमार्फत भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ