arrow

सर्लाही कांग्रेस सभापतिमा पुरानै अनुहार मैदानमा: नागेन्द्र र लक्ष्मणबीच कडा प्रतिस्पर्धा

logo
प्रकाश मैनाली
प्रकाशित २०७८ भदौ ३१ बिहिबार
congress-Sarlahi1.jpg

सर्लाही । नेपाली कांग्रेस १४औं महाधिवेशनको महासंग्राममा होमिएको छ । ७७ वटै जिल्लामा महाधिवेशन केन्द्रीत गतिविधि बाक्लिएको छ । क्रियाशीलता विवादका कारण कतिपय जिल्लामा अधिवेशनको अन्योलता भएपनि चहलपहल बढेको छ । विभिन्न तहको नेतृत्वका लागि रस्साकस्सी जारी छ । विशेषतः जिल्ला समितिको नेतृत्व हत्याउन नेताहरुको दौडधुप बढेको छ ।

क्रियाशील सदस्यता विवादका कारण आन्तरिक किचलोमा फसेको सर्लाही कांग्रेसमा पनि जिल्ला तहको नेतृत्व लिनका लागि आकांक्षीहरुले भेटघाटलाई तिब्रता दिएका छन् । यो समाचार तयार पार्दासम्म सर्लाहीमा क्रियाशील सदस्यको नामावली प्रकाशन नभएकाले औपचारिक वडा भेला शुरु भइगएको छैन् । औपचारिक रुपमा स्थानीय, क्षेत्र र जिल्ला तहको अधिवेशन शुरु नभए पनि आकांक्षीहरुले भेटघाटलाई बढाएका छन् ।

जिल्लामा अधिवेशन सम्पन्न गर्न अहिलेसम्म केन्द्रबाट निर्वाचन अधिकृत नआइसकेकाले कतिपय स्थानमा सहमति भइसकेपनि त्यसले औपचारिकता पाएको छैन् । यसरी वडाको औपचारिकता नपाए पनि जिल्ला सभापतिको चर्चा शुरु भइसकेको छ । यस वर्ष पनि सर्लाहीमा पुरानै अनुहारले जिल्ला नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने संभावना देखिएको छ ।

१३औं जिल्ला अधिवेशनमा प्रतिस्पर्धा गरेका बहालवाला जिल्ला सभापति नागेन्द्र कुमार राय र पूरानै प्रतिस्पर्धी लक्ष्मण रायबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने हालका जिल्ला समापति नागेन्द्र कुमार र बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने लक्ष्मणबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघि २०७२ सालमा भएको जिल्ला अधिवेशनमा १० मतको अन्तरले मात्र सभापतिमा विजयी भएका नागेन्द्र कुमार र लक्ष्मणबीच यस बर्ष हुन लागेको प्रतिस्पर्धा रोमान्चक हुने देखिएको छ । जिल्ला सभापतिका आकाक्षी दुवैजनाले जिल्लामा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएको हुन् । २० स्थानीय तह रहेको सर्लाहीमा चार वटा संसदीय क्षेत्र छन् ।

नागेन्द्र कुमार राय

नागेन्द्र कुमार राय २०३५ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भइसकेका उनी पार्टीको संगठनलाई मजवुद बनाउन गाउँमा क्रियाशील छन् । साबिक पुल परासी गाबिसको अध्यक्ष भएर काम गरिसकेका नागेन्द्र कुमार यस पटक पनि बलिया दाबेदारका रुपमा उभिएका छन् । २०५३ सालमा पहिलो पटक जिल्ला सभापति भएका उनी २०५७ र २०७२ सालमा गरी तीन पटक जिल्लाको नेतृत्व सम्हालीसकेका छन् । फेरि पनि उनले नै जिल्लाको कमाण्ड सम्हाल्ने सोच बनाएका छन् । २०५८ मा हालका प्रधानमन्त्री शेरवादुर देउवाको मन्त्रिपरिषदमा सहायक मन्त्री भएर काम गरि उनी जिल्ला बचत संघमा १३ वर्ष उपाध्यक्ष तथा दुध बिकास संघमा १५ वर्ष अध्यक्ष भएर काम गरि सकेका छन् ।

लक्ष्मण राय

लक्ष्मण राय २०३१ सालमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको राजनीतिमा स्थापित बनेका हुन् । नेविसंघमा आरआर क्याम्पस जनकपुरबाट आफ्नो राजनीतिक यत्रा शुरु गरेका लक्ष्मणले २०४८ सालदेखि कांग्रेसको सक्रिय राजनीतिमा आएका हुन् । कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भइसकेका पार्टीको संगठनलाई मजवुद बनाउन गाउँमा क्रियाशील छन् । लक्ष्मण सर्लाही क्षेत्र नम्बर ३ मा क्षेत्रीय सहसचिब, क्षेत्रीय सभापति, जिल्ला कोषाध्यक्ष, जिल्ला उपसभापति हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । जन-आन्दोलन २०६२/६३ लाइ समेत आफ्नै नेतृत्वमा सफलतापूर्वक काम गरेका उनी यस पटक जिल्ला सभापतिका लागि बलिया दाबेदारका रुपमा आफूलाई प्रश्तुत गरेका छन् ।

२०६२/६३ को जन-आन्दोलन र शान्ति प्रक्रियापछि कांग्रेसले पाएको थप मनोनित सांसदमा पर्न सफल भएका लक्ष्मणले एक पटक जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । लाभको पद भन्दा पार्टीको काममा धेरै समए बिताउने उनी मानव अधिकार शान्ति समाज सर्लाहीको सभापति तथा एमनेष्टी इन्टरनेशनलमा पनि बसेर काम गरिसकेका छन् । विभिन्न सामाजिक र राजनीति काम गरेर लोकप्रियता कमाएका उनी यस पटक कांग्रेसको सर्लाही सभापतिका स्वभाविक दाबेदारका रुपमा उभिएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ