- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेस १८ भदौबाट नै महाधिवेशन होमिसकेको छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । डडेलधुरामा वडा अधिवेशन भए पनि विवादित छ । अधिवेशन हुन बाँकी अन्य २० जिल्ला मध्ये ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी १३ जिल्लाको सार्वजनिक कहिले हुने अझै टुङ्गो छैन । प्रदेश २ का आठ वटै जिल्लामा वडा अधिवेशन बाँकी छ । त्यसबाहेक अन्य पाँच जिल्लामा पनि अधिवेशन बाँकी रहेको हो ।
काँग्रेसले पछिल्लो पटक कार्यतालिका संशोधन गर्दै वडा अधिवेशन गर्न बाँकी जिल्लामा ५ भदौमा अधिवेशन तोकेको छ । सो मिति आउन अब चार दिन मात्रै बाँकी छ । काँग्रेसले पछिल्लो पटक काठमाडौं सहितका ७ जिल्लाको सदस्यता सार्वजनिक गरेको थियो ।
क्रियाशील सदस्यता विवाद समाधानका लागि काँग्रेसले बनाएको कार्यदलले भने सदस्यता सहित महाधिवेशनका केही जटिलताका विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई आजै भेट्दै छ । कार्यदलका सदस्य डा. मिनेन्द्र रिजालले क्रियाशील सदस्यताका विषयमा देखिएका जटिलताका विषयमा पार्टी सभापतिलाई भेटेर जानकारी गराइने र त्यसका लागि समय माग गरिएको बताए ।
‘धेरै जसो जिल्लाका सदस्यता टुङ्गिएका छन्, केही बाँकी छन्, बाँकीको जटिलताका विषयमा कार्यदलले सभापतिलाई भेट्दैछौं, जटिलता फुक्छ भन्ने आस गरौँ,’ कार्यदलका सदस्य नेता रिजालले हाम्रा कुरासँग भने ।
कार्यदलले आजै भेट गर्ने गरी सभापति देउवासँग समय मागेको हो । कार्यदलले सभापतिसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालाई एक ठाउँ राखेर बाँकी विषयमा समाधान खोज्न लागेको हो ।
कङ्ग्रेसले पूर्व महामन्त्री कृष्ण सिटौलाको नेतृत्वका सदस्यताको विवाद समाधान गर्न कार्यदल बनाएको थियो । सो कार्यदलमा नेता रमेश लेखकसमेत सदस्य छन् । कार्यदलका तीनै नेताले पार्टी नेतृत्वसँग भेट्न लागेको हो ।
अहिले प्रदेश २ का धेरैजसो जिल्लामा समायोजन भई आएका सदस्यताका नाममा विवाद छ । सोही कारण प्रदेश २ कै अन्य केही जिल्लाको सदस्यतासमेत सार्वजनिक हुन सकेको छैन । यसै गरी बाँके, डोल्पा, रसुवा, कैलाली र सुर्खेतको पनि सदस्यता टुङ्गिन बाँकी छ ।
गत बुधवार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो ।