arrow

कांग्रेस महाधिवेशन : पेशागत तथा व्यवसायीक युवाको जोडदार ‘इन्ट्री’

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ असोज २ शनिबार
congress-14th-general-convention.jpg

हेटौंडा । यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी देशभर छ । महाधिवेशनका लागि मकवानपुरका सबै स्थानीय तहका १ सय २ वटामा घोषित मितिमै वडा अधिवेशन सकिएको छ । आउँदो असोज ९ गते जिल्लाको गाउ/नगरपालिका अधिवेशन हुँदैछ । कांग्रेस मकवानपुरको १०२ वटा वडाबाट कूल १ हजार ८ सय ३४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाबाट कूल ४२० जना र  थाहा नगरपालिकाका १२ वडाबाट १९८ जना निर्वाचित भएका छन् । त्यस्तै ८ वटा गाउँपालिकाका ७१ वटा वडाबाट कूल १ हजार २ सय १६ जना निर्वाचित भएको कांग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

गाउँपालिकाबाट निर्वाचित हुनेहरूमा क्रमशः मकवानपुर गढी १३७, राक्सिराङ, १५४, कैलाश, १७९, इन्द्रसरोवर ७८, भीमफेदी १५७, बकैया १९४, बागमती १५४ र मनहरी १६३ जना रहेका छन् । कूल नामावलीमा मकवानपुर सभापति, संघीय सभापतिसहित करिब ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले जनाएको छ ।

मकवानपुरमा वडा अधिवेशनमा अधिकांश वडामा सर्वसम्मत ढंगले नेतृत्व चयन भएको हो । हेटौंडा उपमहानगरपालिकाका १९ वडामध्ये ७ वटा वडामा निर्वाचन भएको थियो भने थाहा नगरपालिकाका केही वडामा पनि निर्वाचन भएको थियो ।

युवाको वर्चस्व

मकवानपुरमा वडा अधिवेशनमा युवाको वर्चस्व देखिएको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र तरुण दलका नेताहरुले वडा-वडामा आफ्नो राम्रो पकड बनाएका छन् । नेविसंघका नेता सुवास सापकोटा, नेविसंघकै सुनिल भोम्जन, सुनिल मोक्तान, बुद्ध लामालगायत थुप्रै वडा सभापति बनेका छन् ।

यस्तै, तरुण दलका नेता युवराज लामा हेटौंडा १० नम्बर वडाका वडा सभापति बनेका छन् । नेविसंघका कार्यकर्ता बकैया १ का २३ बर्षिय बुद्ध ब्रम्मु सर्वसम्मत वडा सभापति बनेका छन् । युवा हावी मात्र होइन जिल्लामा नाम चलेका प्रभावशाली नेताहरु यो वडाबाटै पछारिएका छन् कतिपयलाई वडामै निकै गाह्रो अवस्था सृजना भयो ।

जिल्ला सदस्य भैसकेकाहरु हेटौंडा उपमहानगरपालिका ८ बाट हरी वाग्ले पराजित भए, त्यस्तै ५ नम्बरबाट राजेश सुवेदी, १ नम्बरबाट बिजय तिमल्सिनालगायत वडाबाटै पराजित भए भने नयाँ युवा पुस्ताले कब्जा जमाए । त्यस्तै कांग्रेसका प्रभावशाली नेता भरत पराजुली मनहरी गाउँपालिका वडा नम्बर एकबाट प्रतिनिधिमै पराजित भए । यसरी हेर्दा नेतृत्व चयन भएका अधिकांश स्थानीय तहमा कांग्रेसका युवा नेता हाबी भएका छन् । पुराना तथा प्रभावशाली मानिएका नेता भने वडाबाटै पराजित भएका छन् ।

व्यवसायसंगै राजनीतिक फड्को

कांग्रेसको १४ औं महाधिवेशनबाट पुरानो राजनीतिक दलमा नयाँ पुस्तासंगै नयाँ सोच र फरकपनको खाँचो होकि भन्ने वडा अधिवेशनले थोर बहुत प्रस्ट्याएको छ । यद्दपी गाउँ/नगर हुदैं अन्यको अधिवेसन हुनै बाँकी छ ।

मकवानपुरमा पुराना पुस्ताका कांग्रेसीलाई पछी पार्दै व्यवसाय र अन्य छुट्टै पेशा अंगालेर बसेका नयाँ युवा पुस्ताका कांग्रेसी अग्रसर देखिएका छन् । यसले यतिन्जेल टिकिरहेको कांग्रेसमा नया पुस्ताको हाविले झन् लथालिङ्ग हुने होकी भन्ने बिश्लेषण पनि सुनिन्छ भने अर्कोतर्फ अब भने कांग्रेसमा नयाँपनको विकास र नयाँ सोचका साथ् पार्टी र संगठन बलियो हुन्छ भन्ने पनि विश्लेषण हुन थालेका छन् ।

२०१५ मा भएको नेपालको पहिलो आम निर्वाचनमा बिजयी र २०१६ साल जेठ १३ गते नेपाली कांग्रेसका विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा नेपालमा प्रथम जन निर्वाचित सरकारको गठन गर्न सफल बनेको नेपाली कांग्रेसमा आजसम्म आइपुग्दा पार्टी र संगठन भित्रै गुट उपगुट नबनेका भने होईनन् ।

विशुद्ध राजनीति नै गरेर आफ्नो जीवन त्याग्ने थुप्रै नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा देख्न सकिन्छ तर २०७२ सालको निर्वाचनपछी भने पहिलेको भन्दा अलि फरक युवा पुस्ताले कांग्रेसको नेतृत्व गर्न खोजेको देखिन्छ अन्य पेशा व्यवसाय अंगालेका र बिद्यार्थी जीवनदेखि नै विभिन्न राजनीति गर्दै अघि बढेकाहरुको पछिल्लो राजनीतिक यात्रा सहज र सफल बनेको उदाहरणहरु प्रशस्त छन्  ।

बागमती प्रदेशको राजधानी हेटौंडाकै कुराकानी गर्दा कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता तथा पूर्वगृह राज्यमन्त्री एवम अबको बागमतीका मुख्यमन्त्रीको दावेदार मानिएका इन्द्र बानियाँ पनि नेपालकै ठूला व्यवसायी मध्येमा पर्छन् । उनको बानियाँ निर्माण सेवा ‘क’ बर्गको निर्माण कम्पनी हो । उनी कांग्रेस राजनीतिमा सफल नेता हुन् ।

हालका हेटौंडा नगर सभापती आनन्दराम पराजुली कुनैपनि व्यवसाय बिना राजनीति गर्न गाह्रो हुने बताउँछन् । यदि त्यसो कसैले गर्छ भने त्यसमा स्वार्थ मिसिएको हुने उनको तर्क छ । राजनीति र पत्रकारिता पेशाको उस्तै उदाहरण दिदै उनले कुनै पनि अन्य व्यवसाय गरेर घरपरिवार आफ्नो जीविकोपार्जन गर्ने र राजनीतिलाई समाज सेवाको रुपमा लैजाने काम गर्नु नै आजको आवस्यकता रहेको उनि बताउँछन् । उनि अबको जिल्ला सभापतिको दावेदार समेत रहेका छन् । उनी पनि निर्माण व्यवसायी हुन् ।

त्यस्तै नगर सभापतिका अर्का दावेदार महेन्द्र राउत पनि हेटौंडाका एक सफल व्यवसायी हुन् । उनी हेटौंडाका इलेक्ट्रोनिक ब्यापारी हुन् । २०४५ सालदेखि नेविसंघबाट राजनीतिमा आएका उनी राजनीति गर्दा कुनैपनि पेशा व्यवसायमा लागेर निस्वार्थ भावले समाजसेवा गर्नुपर्ने बताउछन् । अबको राजनीति महंगो पनि भएको र राजनीति मात्रै गरेर जनताको अपेक्षा पुरा गर्न नसकिने उनको धारणा छ । व्यवसायमा लागेका युवाले कांग्रेसको नेतृत्व सम्हाल्न खोज्नु निकै राम्रो कुरो भएपनि हालसम्म कांग्रेस बचाईरहेका पुराना पुस्तालाई पाखा लगाउन नहुने  उनको भनाई छ ।

यता कांग्रेस महिला नेतृ इन्दिरा न्यौपानेले पनि कुनैपनि व्यवसाय र पेशा नअंगाली राजनीति गर्न नसकिने र नहुने तर्क राख्छिन् । २०५२ सालदेखि राजनीतिमा आएकी उनी गैरसरकारी सस्था महासंघकी जिल्ला कोषाध्यक्ष हुन् भने उनले आफ्नै सस्था संचालन गरेकी छिन् । उनी आउँदो अधिवेशनका लागि जिल्लाको सहसचिवको उम्मेदवार हुन् । उनले युवा पुस्ता कांग्रेसमा आउनु कांग्रेस र देशलाई नै सुखद कुरो भएकाले त्यसमा व्यवसायिक व्यक्तित्व जोडिदा पार्टी बलियो बन्नुको साथै जनताप्रतिको समाजसेवामा तन मन र धनले सहयोग पुग्ने बताउँछिन् ।

त्यस्तै हेटौंडा नगर कै सभापतिका अर्का दावेदार हुन् राजेश बानियाँ । उनि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पनि हुन् । उनी सफल व्यवसायी पनि हुन् । नेकपा एमालेको बलियो पकड भएको ५ नम्बर वडाबाट उनले चुनाव जितेका थिए । उनले राजनीतिमा युवा आउनु र त्यसमा पनि अन्य कुनै पेशा व्यवसायमा जोडिएका युवा कांग्रेसीले नेतृत्व लिन खोज्नु कांग्रेस आफैलाई फाइदाको बिषय भएको उनि बताउँछन् ।

पार्टीलाई मात्र नभई एक सफल व्यवसायी राजनीतिमा आउँछ भने उसले राजनीतिलाई पेशा नबनाई सेवाको रुपमा मात्र हेर्ने उनको भनाइ छ । हाम्रा कुरासंगको कुराकानीमा उनले भने,‘मलाई नै हेर्नुस न, अन्य पार्टीको पकड भएको ठाउमा सबैले मलाई जिताउनुभयो, किनकि मेरो अन्य व्यवसाय छ मलाई राजनीतबाट आफ्न स्वार्थ पुरा गर्नु छैन मैंले समाजसेवा मात्र गरेको छु , त्यसैले विश्वास बढेको हो सबैको ।’

मकवानपुरमा मात्र होइन कांग्रेस सधैं बुढाको पार्टी भन्ने चर्चा चलिरहेका बेला १४ औँ महाधिवेशनमा तल्लो तहको नेतृत्व चयनमा युवा पुस्ताको आर्कषण देशभर बढेको हो। केन्द्रमा गुटउपगुट देखिए पनि जिल्लामा त्यसको प्रभाव कमै परेको देखिएको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिमा युवाहरूको आगमनले पार्टीमा नयाँ ऊर्जा थपिएको कांग्रेस नेताहरुले जनाएका छन् ।

'निस्वार्थ आउछ भने ५० बर्षे युवा हुन्छ, कर्मकाण्ड गर्ने होस् या ठेक्कापट्टा मतलब हुन्न' -विश्लेषक आनन्दराम पौडेल कांग्रेसले आफुलाई प्रजातान्त्रिक र लोकतान्त्रिक पार्टी नारामा मात्र सिमित नबनाएर व्यवहार र पुस्तान्तरणका अघि बढे पुरानो संगै बलियो बन्ने बताउँछन् । उनले पार्टीमा २-४ वर्षा जेठा कान्छाले कुनै अर्थ नराख्ने र जुनसुकै पेशा व्यवसायबाट आएर राजनीति गरेपनि कुनै फरक नपर्ने बताउँछन् ।

‘कांग्रेसमा नयाँ पुस्ता संगै भिजन, मिसन र नयाँ सोचसंगै परिकल्पना गर्न सक्ने मान्छेको खाचो छ, कोही मान्छे कर्मकाण्ड गरेर आओस या व्यवसाय जुनसुकैबाट आओस त्यो संग मतलब हुन्न’ उनले हाम्रा कुरासंग भने ।

पूराना सोच र पुस्तालाई पनि साथ लिएर तल्लो तहबाटै कोही समाजका लागि केहि गर्छु भनेर आउछ भने मात्र गाउँ, नगर, जिल्ला हुदै केन्द्रसम्म नै त्यसको प्रभाव पर्ने र पार्टी बलियो बनाउनको लागि मद्दत पुग्ने विश्लेषक पौडेल बताउँछन् । नेपालको एक समाजवादी-जनवादी राजनीतिक दल भनिने नेपाली कांग्रेस  नेपालमा ‘राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’को नारा लिएर हिड्ने कांग्रेस राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्तमा चल्नुपर्ने उनको भनाई छ ।

जे होस् नेपाली कांग्रेसको वडा तहको निर्वाचनमा चुनिएका उदीयमान युवायुवतीको प्रतिनिधित्वले नयाँ आशाको किरण भने पक्कै जगाएको छ । त्यतिमात्र होईन पुराना पुस्ताले नेतृत्व गर्ने र पाका उमेरकाले राजनीति गर्ने पार्टी भनि आरोप खेपिरहेको कांग्रेसमा अबको मैदान सबैलाई खुला रहने विश्वास पनि लिन सकिने आधार तय भएको छ ।

राजनीतिलाई नै पेशा बनाएर अधि बढ्ने गरेका पुराना पुस्तालाई बिश्राम दिदै नयाँ सोच,लक्ष्य र भिजनसहित आएका र आफ्नो खुट्टामा उभीइसकेकाहरु तल्लो तहदेखि केन्द्रसम्मकै नेतृत्वमा पुगे पक्कै कांग्रेस थप बलियो र थप युवाको आसलाग्दो राजनीतिक दल बन्नेछ । १४ औं अधिवेशनमा देशका विभिन्न जिल्लाका वडा तहमा देखिएको युवापुस्ताको उत्साहले केन्द्रसम्म प्रभाव पार्ने देखिन्छ । अर्कातिर अहिलेको नयाँ पुस्ताले नेतृत्व लिएसंगै अभिभावकीय भूमिका निर्वाह गर्न सके कांग्रेस त बलियो हुन्छ नै, कम्युनिस्ट पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ