arrow

सर्लाहीमा बढ्यो राजनीतिक सरगर्मीः कांग्रेस, एमाले र माओवादीका आ–आफ्ना व्यस्तता 

logo
हाम्राकुरा संवाददाता,  
प्रकाशित २०७८ असोज ५ मंगलबार
Congress-UML-Maoist.jpg

सर्लाही । सर्लाहीमा पछिल्लो समय राजनितिक सहगर्मी बढेको छ । सर्लाहीमा क्रियाशील राजनितिक दलले अहिले वडादेखि नगर गाउँ भेला गरिरहेका छन् । दैनिक जस्तो भेला तथा समिति गठनले गर्दा यहाँका राजनितिक दलका नेता कार्यकर्तालाई भ्याई नभ्याई भैरहेको देखिन्छ ।

दिनहुँ जस्तो नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र लगायतका दलले अहिले आ–आफ्नो विभिन्न समिति गठन गरिरहेका छन् । क्रियाशील सदस्यताको नामावली प्रकाशन नभएकाले कांग्रेसले अहिले अनौपचारिक रुपमा वडा भेला गरिरहेको छ । पछि निर्वाचन अधिकृत आएपछि त्यसलाई औपचारिकता दिने र विवाद भएको ठाउँमा स्थानीय स्तरबाटै मिलाउने प्रयास भैरहेको नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए । 

स्थानीय स्तरबाट विवाद मिलाउन नसकेको ठाउँमा केन्द्रले निर्वाचन अधिकृत पठाएपछि थप उपाय अपनाएर समाधानतर्फ जाने रायको भनाइ छ । अहिलेसम्म वडाको मात्र मिलाउने प्रयास भैरहेको छ भने क्षेत्र, जिल्ला तथा महाधिवेसन महासमितिको समेत चर्चा परिचर्चा चलिरहेको देखिन्छ । 

अहिले कांग्रेसका नेता तथा कायकर्ता आ–आफ्नो वडामै देखा परिरहेका छन् । चियापसलदेखि विभिन्न नेता कायकर्ताको घरमा दिनहुँ जस्तो भेला भैरहेको छ । 

पार्टी कार्यालय भन्दा पनि नेता कार्यकर्ताकै घरमा रमाउन कांग्रेसको पुरानै रोग यस वर्ष पनि देखा परेको छ । नयाँ पुस्ताले यसरी घरमा भन्दा पनि पार्टी कार्यालयकै पार्टीको काम हुनुपर्ने बताउँछन् ।
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अहिले कार्यकर्ता भेला तथा वडा भेला गरिरहेको छ । यस पार्टीले पार्टी छाडेर आएका नेताको स्थानमा नयाँलाई जिम्मा दिने गरी वडा भेला गरिरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले बताए । 

पार्टीलाई क्रियाशील बनाउन रिक्त रहेको स्थानमा नयाँलाई जिम्मेवारी प्रदान गरिरहेको र पार्टीमा काम गर्न चाहनेलाई स्वागत गरिरहेको उनले बताए । 

यसरी दिनहुँ जस्तो भेला तथा पुनर्गठन गर्ने गर्नाले यस पार्टीका नेता कार्यकर्तासमेत व्यस्त देखिन्छन् । सर्लाहीको ३ नं क्षेत्रबाट संगठन निर्माणमा जुटेको एमालेले अब सबै क्षेत्रमा क्रमशः पुनः गठन गर्दै जाने साहको भनाइ छ ।

यसरी भेला गर्दा आफ्नो पार्टिमा को को रहेको एकिन हुनुको साथै आम नेता कार्यकर्तामा जागरणसमेत आउने नेकपा एमालेका नेता गोविन्द महत बताउँछन् । 

अहिले प्रशिक्षणको रुपमा कार्यकर्ता भेला संचालन भैरहेको र यसले आम नेता कार्यकर्तामा थप उर्जा आउने नेता महतले बताए । केही दिनअघि मात्र एमालेबाट फुटेर बनेको एकिकृत समाजवादी पार्टी समेत संगठन बिस्तारमा लागेको छ । 

यस पार्टीले अहिले सर्लाही जिल्ला कार्य समितिले नेतृत्व नपाएपनि नगर तथा गाँउ भेला भने धमाधम गठन भैरहेको छ । गत भाद्र २७ गते जिल्ला भेला गरेर नगर तथा गाँउ कार्यसमिति गठन गर्न नगर तथा गाउँ भेला गरी गठन गर्न अनुमति दिएकाले त्यसैलाई आधार बनाएर अहिले नगर तथा गाउँ कार्यसमिति वा संयोजक तोकिएको र नवगठित कार्य समितिले वडा भेला गर्दै जाने समाजवादीका नेता भरतकुमार कार्कीले बताए । अहिलेसम्म जिल्ला भेलापछि तल्लो तहको कमिटी गठन गर्न पार्टीको सबै तहका नेता कार्यकर्ता लागि परेको प्रदेश सांसद बेची लुङ्गेलीले जानकारी दिए । 

पछिल्लो समय नेकपा माओवादी केन्द्रले पनि आफ्नो संगठन निर्माणमा जुटेको छ । माओवादीले वडादेखि नगर सम्मको भेला तथा कमिटी गठन गरिरहेको छ । अहिले जिल्लाको २० वटै स्थानीय तहमा भेला संचालन भैरहेको माओवादीका कार्यवाहक जिल्ला अध्यक्ष कमल बुढाथोकीले बताए । 

अहिले वडा भेला संचालन भैरहेको र सर्लाहीमा कुल २०० वडामध्ये करिब आधा वडामा भेला सम्पन्न भैसकेको र अरुमा पनि भेला धमाधम भैरहेको बुढाथोकीले बताए । 

यसरी संगठन निर्माणमा सबै तह लाग्दा सर्लाहीमा राजनीतिक माहोल तात्तिएको छ । 

माओवादीले सर्लाहीको सबै वडा भेला सकेर गाउँ तथा नगर भेला सकेर प्रदेश भेलाको तयारीमा रहेको छ । यसरी भेला तथा संगठन विस्तारमा लागेकाले माओवादीका नेता तथा कार्यकर्ता समेत अहिले स्थानीय तहमै आएर काम गरिरहेका छन् । 

यसरी नेता तथा कार्यकर्ता सबै तल्लो तहको संगठन निर्माणमा लाग्दा पार्टीका पुराना नेतामा भने खुशी छाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ