- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन प्रक्रियामा हुने विभिन्न तहका अधिवेशन कुन मितिमा हुने भन्ने अन्योल बढ्दै गएको छ। काँग्रेसले क्रियाशील सदस्यताको नामावली नटुंगाउँदा १३ जिल्लामा वडा अधिवेशन अझै गर्न सकेको छैन । ती १३ जिल्लामा मात्रै बाँकी अधिवेशन सार्ने कि सबै जिल्लामा बाँकी तहका अधिवेशनका मिति सार्ने भन्ने विषयमा काँग्रेस भित्र अन्योल छ ।
सो विषयमा निर्णय लिन काँग्रेसले अहिले तीन बजे पदाधिकारी बैठक डाकेको छ । सभापति शेरबहादुर देउवाले निर्वाचन समितिसँगको छलफलपछि महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् । सो बैठकले १३ जिल्लामा मात्रै बाँकी अधिवेशनका प्रक्रिया सार्ने कि वडा अधिवेशन सम्पन्न भएका जिल्लामा तोकिएकै मितिमा गर्ने भन्ने टुङ्गाउने छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा मात्रै बाँकी तहका अधिवेशनको मिति सार्न सुझाएको जानकारी दिए । उनले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा भने बाँकी तहका अधिवेशन गर्न निर्वाचन समिति तयार रहेको बताए ।
यसअघि पछिल्लो पटक ५ असोजका लागि वडा अधिवेशन हुन बाँकी २० जिल्लामा अधिवेशनको मिति तोकिएको थियो । तर यो बीचमा ७ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक भएपछि ती जिल्लामा भने अधिवेशन भएको छ । बाँकी १३ जिल्लामा भने वडा अधिवेशन अन्योल बनेको छ । ती जिल्लाका क्रियाशील सदस्यता नामावली अझै पनि सार्वजनिक गरिएको छैन ।
काँग्रेस नेता मीन विश्वकर्माले १३ जिल्ला बाहेकका वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा सबै अधिवेशनहरू निर्धारित मितिमा नै गर्ने र बाँकी १३ जिल्लामा मात्रै अधिवेशन केही हेरफेर गर्ने तयारी भएको जानकारी दिए ।
तर काँग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने अधिवेशन नै नगर्ने षड्यन्त्र स्वरूप मिति धकेल्न खोजेको भन्दै अधिवेशन फरक फरक मितिमा नभई एकै मितिमा हुनु पर्ने बताउँदै आएको छ । सो समूहले समेत अहिले केही बेरमा आफ्नो समूहमा छलफल गर्ने तयारी गरेको छ । त्यसपछि पौडेल पक्ष सभापतिले डाकेको बैठकमा सहभागी हुनेछ ।
शीर्ष तहमा अन्योल कायम रहँदा तल्ला तहका नेताकार्यकर्ताहरूमा समेत अधिवेशनका विषयमा अन्योल बढेको छ । काँग्रेसले यसअघि पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । काँग्रेसको वडा अधिवेशन गत १८ भदौ मा तोकेको थियो । तर सो मितिमा भने प्रक्रिया मात्रै सुरु भएको थियो । त्यसपछि ७ जिल्लामा ५ असोजमा अधिवेशन भएको हो ।
अब भने प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण काँग्रेसले पार्टीको वेबसाइटमा सार्वजनिक गर्न बाँकी छ ।
काँग्रेसले यसअघि महाधिवेशनअन्तर्गत गाउँ-नगरपालिका अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजका लागि तय गरेको छ ।
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिक र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मङ्सिरसम्म तय गरेको छ ।