arrow

माधव नेपालको पार्टी प्रति ओलीको टिप्पणी- 'फुटेको चोइटोको नाम एकीकृत !'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
oli-banke.JPG

नेपालगन्ज ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टीलाई चोइटोको संज्ञा दिएका छन्।  नेपालगन्जमा आयोजित बृहत् कार्यकर्ता भेलालाई बुधबार दिउँसो सम्बोधन गर्दै अध्यक्ष ओलीले भने-'फुटेको चोइटोको नाम एकीकृत !' उनले अगाडि थपे-'चार जना चोइटिएर सानो कसौँडीमा भात पकाउँदै छन् अनि भन्दै छन् एकीकृत समाजवादी ।' 

आफ्नै भनिएकाहरूले सरकार ढाल्न ठुलो कसरत गरेको भन्दै उनले भने-'माधव नेपाल र प्रचण्डले एमालेको सरकार ढलाउन के के गरेनन् उनले भने देउवा कहाँ गएनन् कि, राष्ट्रपति कहाँ पुगेनन् कि अथवा अदालत चहारेनन् कि । ' 

ओलीले  पदका पछि नलागेर देश र समाजप्रति समर्पित भएर राजनीति गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले कार्यकर्तालाई पोस्ने गरी अहिलेको सरकारले बजेटमा संशोधन गरेको आरोप लगाउँदै विकास निर्माणका कामको बजेट कटाएर कार्यकर्तालाई पैसा बाँड्ने बजेट ल्याएको टिप्पणी गरे । 

ओलीले अप्ठ्यारो परेको बेलामा पार्टी र आन्दोलनलाई जोगाएको भन्दै कार्यकर्तालाई धन्यवाद दिएका छन् । ओलीले भने-'पार्टीलाई कमजोर पार्ने षड्यन्त्रलाई चिर्दै तपाईँहरूले अप्ठ्यारो परेको बेला आन्दोलनलाई अझ बढी सशक्त बनाउनुभएको छ, तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु,' 
आफ्नो भाषणको सुरुमै उनले भने-'पार्टीभित्रै बसेर पार्टीलाई सिद्ध्याउने, कमजोर पार्नेका पछि तपाईँहरू लाग्नुभएन, झुकाउन खोजे पनि तपाईँहरू झुक्किनुभएन, तपाईँहरूले नेकपा एमालेलाई अझ बलियो बनाउनुभएको छ ।' 

उनले अगाडि भने-'केही मानिसहरू एमाले सत्ताबाट प्रतिपक्षमा पुग्यो भनेर दङ्ग परेका छन्, तर एमाले जनादेशबाट प्रतिपक्षमा पुगेको होइन, न त गठबन्धन भनिएकाहरू जनादेशबाट सत्तामा पुगेका हुन्...त्यो त परमादेशबाट हो ।' ओलीले सरकारबाट बाहिर आउँदा एमालेले सङ्गठन बनाउने र विस्तार गर्ने अवसर पाएको बताए । 

भेलालाई स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पनि सम्बोधन गरेका थिए । यसअघि ओली र पोखरेलले बर्दियाको गुलरियामा आयोजित कार्यकर्ता भेलालाई पनि सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ