- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका फेरी संशोधन गर्ने भएको छ ।
त्यसका लागि आज ३ बजे कांग्रेसले केन्द्रीय निर्वाचन समितिसँग छलफल गर्दै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छलफलपछि कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन र त्यसपछिका अधिवेशनका विषयमा निर्णय लिने छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिउसो ३ बजे निर्वाचन समितिलाई छलफलका लागि बोलाइएको जानकारी दिए । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरी संशोधन गर्ने सहमति गरेको थियो ।
पदाधिकारी बैठकमा भएको सहमति अनुसार अब १३ जिल्लाको वडा अधिवेशन ९ असोजपछि हुनेछ । ति जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएर मात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको हो । यस्तै ति १३ जिल्लामा पालिका तहको अधिवेश पनि दशैं अघि मात्रै हुनेछन् । तर वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामा भने ९ असोजमा नै पालिका अधिवेशन हुनेछ । त्यसपछिका अधिवेशनको मिति भने हेफेर गर्ने कांग्रेसको तयारी छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ जिल्लामा बाहेक वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा ९ असोजमा नै पालिका अधिवेशन गर्ने र बाँकी १३ जिल्लामा दशैं अघि पालिका तहका अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी दिए ।
‘१३ जिल्लामा ९ असोजसम्म क्रियाशिल टुंगाएर वडा अधिवेशन गर्ने सहमती भयो, वडा अधिवेशन सकिएका जिल्लामा भने ९ गते नै पालिका अधिवेशन पनि हुन्छ, बाँकी १३ जिल्लामा दशैं अघि बडा अधिवेशन गर्ने सहमती भएको छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने । सहमति अनुसार वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा भने बाँकी तहका अधिवेशन गर्न निर्वाचन समिति तयार छ ।
यसअघि पछिल्लो पटक ५ असोजका लागि वडा अधिवेशन हुन बाँकी २० जिल्लामा अधिवेशनको मिति तोकिएको थियो । तर यो बीचमा ७ जिल्लाको मात्रै क्रियाशिल सदस्यता सार्वजनिक भएपछि ति जिल्लामा भने अधिवेशन भएको छ । बाँकी १३ जिल्लामा भने वडा अधिवेशन बाँकी छ । ती जिल्लाका क्रियाशील सदस्यता नामावली अझै पनि सार्वजनिक गरिएको छैन ।
कांग्रेसले यसअघि पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत १८ भदौ मा तोकेको थियो । तर सो मितिमा भने प्रक्रिया मात्रै शुरु भएको थियो । त्यसपछि ७ जिल्लामा ५ असोजमा अधिवेशन भएको हो ।
अब भने प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण कांग्रेसले पार्टीको वेबसाइटमा सार्वजनिक गर्न बाँकी छ ।
कांग्रेसले यसअघि महाधिवेशनअन्तर्गत गाउँ–नगरपालिका अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजका लागि तय गरेको छ
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिक र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय गरेको छ ।