- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रवार सिंहदरबारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मङ्सिर ९–१३ गते तोकिएकै मितिमा हुने प्रस्ट्याएको हो ।
बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । ‘जे निर्धारित समयका लागि केन्द्रीय महाधिवेशन निर्धारण गरेका छौं । त्यसबारेमा अहिले कसैलाई कुनै कन्फ्यूजन नराख्नका लागि र बैठकमा महाधिवेशन मङ्सिरबाट अलि पछाडि जाने हो कि कसैले प्रस्ताव पो राख्नु भयो कि भनेर खासगरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यो प्रकारको विषयमा अहिले हामी गएका छैनौँ । त्यो प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिमा हामी विधिवत् रूपमा जान्छौँ ।’
बैठकले भोलि (नौं) गते शनिवार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । हिमाली जिल्लालगायत कतिपय जिल्लामा पालिका स्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्य समितिको भावना अनुसार केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
बैठकले बाँकि रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक सङ्गठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशनको प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि काँग्रेसले गरेको छ ।