arrow

सडक अवरुद्ध हुँदा सिक्चेतमा देखिएको खाद्यान्न समस्या समाधान गर्न गृहमन्त्री प्रतिवद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ८ शुक्रबार
balkrishanaa.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पहिरोले सडक अवरुद्ध हुँदा गोरखाको चुमनुबरी गाउँपालिकाका वडा नम्बर ६ को सिक्चेत गाउँमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।

‘चूम सिक्चेत मानखाङ गुम्बा’को उद्घाटन गर्न शुक्रबार सिक्चेत पुगेका मन्त्री खाणले सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि तत्काल पहल सुरु गर्ने बताए । गत भदौ दुई गते लोक्पा र सर्दी भिरमा गएको पहिरो अझै नरोकिदा सिक्चेत गाउँमा अहिलेसम्म खाद्यान्न पुग्न सकिरहेको छैन । मानिसहरू आवतजावत गर्न पनि समस्या भइरहेको छ ।

मन्त्री खाणले पहिरो हटाउनका लागि आफ्नो मन्त्रालयबाट हुने काम गर्न सँगै जानुभएका मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेललाई निर्देशन दिए । अन्य सरोकारवाला निकायसँग पहिरो हटाउने विषयमा पहल गर्ने मन्त्री खाणले प्रतिबद्धता जनाए ।

उनले सिक्चेतमा देखिएको खाद्यानको समस्या समाधान गर्न मन्त्रालयको विपद् व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु गर्ने बताए । ‘पहिरोले यहाँ आउने मुल सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्न समस्या समाधानका लागि मन्त्रालयको विपद व्यवस्थापन महाशाखामार्फत प्रक्रिया सुरु हुन्छ । आवश्यक खाद्यान्न हेलिकोप्टरबाट  भए पनि यहाँसम्म पुर्‍याउने व्यवस्था हुन्छ,’ मन्त्री खाणले भने ।

मन्त्री खाणलाई चुमनुबरी गाउँपालिका वडा नं ६ का अध्यक्ष लोप्साङ थुन्जो लामाले त्यहाँका पहिरोलगायतका वडाले झेल्नु परेका समस्याबारे अवगत गराएका थिए । उनले दुई भदौबाट जान लागेको पहिरो नरोकिदा खाद्यान्न समस्या भोग्नु परिरहेको, सञ्चारको सुविधा नभएको, सुरक्षाको सुविधा नभएको भन्दै मन्त्री खाणलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्र बुझ्दै समस्या समाधान गर्न पहल गर्ने बताए ।

सिक्चेत गाउँ बुद्धिष्टहरु बस्ने भएकाले त्यहाँ हिंसा हुँदैन । त्यही विषयमा धारणा राख्दै मन्त्री खाणले संसारलाई अहिंसाको दिशामा अगाडि बढाउन जरुरी रहेको बताए । अहिंसामा मात्रै शान्ति हुने भन्दै मन्त्री खाणले शान्ति मानिसको प्रारम्भिक चाहना रहेको बताए । उनले इलामका धर्मगुरु आत्मनन्द लिङ्देनको उदाहरण दिँदै उनले सिंगो गाउँलाई नै शाकाहारी बनाएको बताए ।

करिब दुई हजार छ सय जनसंख्या रहेको गाँउमा कुनै घटना घटेमा सुरक्षाकर्मी आइपुग्न छ घण्टा लाग्छ । प्रहरी चौकी चुम्लिङमा रहेको स्थानीयहरूले जानकारी दिए । एउटा प्रहरी चौकीको माग पनि स्थानीयले गरेका थिए । त्यहाँ कुनै पनि नेटवर्कको टेलिफोनको टावर टिप्दैन । न्याक गाँउमा नेपाल टेलिकमको टावर निर्माण भएको र त्यो टावर सञ्चालनमा ल्याउन स्थानीयबासीले माग गरेका थिए । मन्त्री खाणले टेलिकमसँग टावर सञ्चालनमा ल्याउन पहल गर्ने बताए ।

गुम्बा खेम्पो कर्मा दावाको आर्थिक सहयोगमा निर्माण भएको हो । त्यस्तै दावाकै आर्थिक सहयोगमा निर्माण भएका सिक्चेतका ३७ मुलघर पनि स्थानीयलाई हस्तान्तरण गरिएको थियो । मन्त्री खाण काठमाडौं फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ