arrow

एमालेमा विद्रोह

प्रभु साह एमालेका चौथो धार, आइटी आर्मीलाई ओलीले मान्यता नदिएपछि पार्टी नै छाड्ने तयारी

माओवादीबाट आएकालाई स्थायी कमिटी सदस्य नबनाएपछि केन्द्रीय कमिटी बैठकसमेत बहिस्कार, जेठ ३ पछिको अवस्थामा रहनु पर्ने अडान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
prabhu-shah.jpg.jpeg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा रहेका पूर्वमन्त्री प्रभु साहले एमाले छाड्ने संकेत गरेका छन् । आफूलाई स्थायी कमिटीमा नलगेको भन्दै असन्तुष्ट रहेका साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भइरहेको बताउँदै एमाले छाड्ने संकेत गरेका हुन् ।
  
प्रदेश २ मा माओवादीकै ज्वाला साहसँगको अन्तरविरोध रहेकै कारण उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चिढिएका थिए । नेकपा एकता अदालतबाट बदर भएपछिको सहमति कार्यन्वयन नहुँदा एमालेमा बस्न समस्या रहेको भन्दै उनले एमालेभित्र विधान महाधिवेशन नभई एकता महाधिवेशन हुनुपर्ने माग राखेका छन् । उनले पार्टीभित्र आठ बुँदे माग अघि सारेर पार्टीको केन्द्रीय कमिटी बैठकमासमेत सहभागी भएका छैनन् ।
 
प्रदेश २ मा १ महानगरसहित ३ जिल्ला इन्चार्ज र ४ जिल्ला अध्यक्ष पूर्व माओवादीले पाउने सहमति भए पनि नपाएको भन्दै उनी असन्तुष्ट भएका थिए । ओलीले साहलाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव गरेपनि त्यो अहिलेसम्म लागु भएको छैन । रौतहटमा उनी एक्लैले चुनाव जित्ने अवस्था रहेकाले पनि माओवादी वा एमाले जहाँ भएपनि स्थान पाउने उनी निकटका नेताहरुले बताउने गरेका छन् । 

अहिले उनले आइटी आर्मी नामको मोर्चाबाट जनपरिचालन र कार्यकर्ता परिचालनको काम गरिरहेका छन् । उनले एमालेसमक्ष आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिन माग गरेका छन् । तर अध्यक्ष ओली उनको यो विषय सुन्न नै चाहँदैनन् । एमालेका एक नेताका अनुसार साहले एमालेलाई जेठ २ अघिको होइन जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गर्दै आएका छन् ।

उनको आठ बुँदे मागमा जनताको बहुदलीय जनवाद होइन नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने मागसमेत राखेका छन् । त्यस्तै एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन् । 

साहले एमालेको विधान महाधिवेशन होइन एकताको पार्टी महाधिवेशन हुनुपर्ने माग समेत गरेका छन् । काठमाडौमा केन्द्रीय कमिटीको बैठक चलिरहेको बेला उनी भने रौतहट पुगेर मुलुकमा राजनीतिक ध्रुविकरण हुन लागेको अभिव्यक्ति दिएका थिए । रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले देशमा संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको, देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढ्दै गएकोले क्रान्तिकारीहरुको ध्रुवीकरण आजको आवश्यकता बनेको बताए । 

उनले देशलाई अग्रगमनको बाटोमा डोर्याउने उद्देश्य बोकेका क्रान्तिकारीहरुबीच चाँडै एकता भएर एउटा सशक्त शक्ति निर्माण हुने अभिव्यक्ति दिए । ‘आज देशमा गम्भीर प्रकृतिको राजनीतिक संकट गहिरिँदै गएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ । एउटा मात्र जातिको वकालत गर्ने केही राजनीतिक दल तथा नेताहरु निहित स्वार्थमा तयार भएको वर्तमान संविधान र व्यवस्था नै यसको प्रमुख कारण छ । तर कम्युनिष्टका नामधारी पार्टीहरु यथास्थितिमा विकल्प खोजिरहेका छन् जसको कुनै अर्थ छैन’, एमाले केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री साहले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ