- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
लमजुङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकामा तनाव उत्पन्न भएको छ । राइनासको सभापतिका लागि निर्वाचन चलिरहेका बेला मतपत्रमा त्रुटि भएको भेटिएपछि तनाव उत्पन्न भएको हो । नगरको सभापतिका लागि श्रीकृष्ण पौडेल र नुरराज कडरिया चुनावी मैदानमा उत्रिएका थिए ।
शनिबार निर्वाचन शुरु भएर आधा मत खसिसकेको थियो । मतदानकै क्रममा सभापतिका उम्मेदवारमध्ये श्रीकृष्ण पौडेलको मत संकेत ९ठीक चिन्ह० गर्ने ठाउँको कोठा नै नभएको र दुवै उम्मेदवारका क्रमसंख्या एउटै ९१० भएको पाइएपछि तनाव उत्पन्न भएको हो । नगरपालिकामा २०२ मतदाता रहेकोमा शनिबार १२३ मत खसेपछि मतदान स्थगित भएको हो ।
मतदान स्थगित गरेसंगै खस्न बाँकी मतपत्र र खसेको मतपत्र सबै जलाइएको निर्वाचत अधिकृत दिनेश सिलवालले जानकारी दिए । अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित गरिएको उनले बताए । उनले मतपत्र छपाइका क्रममा त्रुटि भएको स्वीकार गरेका छन् ।
उनले भने, ‘हतारमा काम गर्नेक्रममा त्रुटि भएको हो । त्रुटि भएको शुरुमै पत्तो पाएर दुवै उम्मेदवारका प्रतिनिधिको सहमतिमा मतदान प्रक्रिया अघि बढाइएको र आधाजसो मतदान भएपछि पौडेल पक्षबाट आपत्ति जनाइएपछि मतदान स्थगित गरिएको हो ।’
निर्वाचन अधिकृत सिलवालले सामान्य विषयलाई ठूलो इस्यू बनाउन खोजिएको दुखेसो पोखे । ‘मतपत्रमा एउटा धर्को छुटेको थियो । यसलाई मिलाउने ठाउँ हुँदा हुँदै पनि मतदान स्थगित गर्न माग गरियो’, उनले भने ।
सभापति उम्मेदवारहरुले भने निर्वाचित अधिकृतकै गल्तीका कारण मतदान स्थगित भएको बताएका छन् । उम्मेदवार कडरियाले अरु कसैको दोष नभएको भन्दै मतदान अधिकृतको त्रुटि स्पष्ट देखिएको बताए । अब सर्वपक्षीय सहमति गरेर अर्को निर्वाचित मिति तोकिने उनले बताए ।
अर्का उम्मेदवार पौडेलले आफूलाई षड्यन्त्रपूर्वक हराउने प्रयास गरिएको आरोप लगाए । उनले भने, ‘यो षड्यन्त्रमा को को सहभागी छन् भन्ने कुरा पछि भनौंला । ममाथि निकै ठूलो षड्यन्त्र रचिएको रहेछ । त्यो पूरा हुन पाएन ।’