arrow

परराष्ट्रमन्त्री खड्का भेटवार्तामा व्यस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
Narayan-khadka-FB.jpg

न्यु योर्क। संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्यु योर्क रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिवार बङ्गलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्। सो अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्धनबारे विचार विमर्श भएको न्यु योर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा केन्द्रित रहेको थियो । दुवै देशका विदेश मन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएको उक्त नियोगले जनाएको छ ।

शनिवार नै मन्त्री खड्काले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गरे । भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापनाकार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गरेका छन् । मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गरेका छन् ।  

यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा शनिवार साँझ रात्रिभोजको आयोजना गरेको उक्त नियोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ