arrow

महाधिवेशनमा कांग्रेस

१८ गते २१ जिल्लामा जिल्ला अधिवेशन हुँदै (कहाँकहाँ हुँदै ?)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
congress-14th-general-convention.jpg

काठमाडौं। नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । कांग्रेसले २१ वटा हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । त्यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाहरूको नाम सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले सम्भव भएसम्मका हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको बताए । उच्च हिमाली क्षेत्रमा पर्ने जिल्लाहरूमा हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकोले दसैँअगाडि नै अधिवेशन गर्न लागिएको उनले जानकारी दिए ।

‘दसैँअघि नै २१ जिल्लामा जिल्ला अधिवेशन गर्ने तयारीमा छौँ, हिउँ पर्ने र चिसो बढ्ने भएकाले ती जिल्लामा दसैँअघि नै अधिवेशन सम्पन्न गर्ने तयारी भएको हो, केही जिल्लामा एक दुई दिन यताउता पनि होला,’ निर्वाचन समितिका संयोजक यादवले हाम्राकुरासँग भने ।

७ असोजमा बसेको कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा दसैँअघि र पहाडी तथा तराइका जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन समितिका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी जिल्लामा १८ असोज भित्र जिल्ला अधिवेशनअघिका सबै प्रक्रिया पुरा गरेर जिल्ला अधिवेशन गरिने छ । रसुवामा भने वडा अधिवेशन नै भएको छैन ।

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ भने वडा अधिवेशन सम्पन्न भएकामध्ये ६० जिल्लामा पालिका तहका अधिवेशन पनि सम्पन्न गरिसकेको छ । वडा अधिवेशन सकिएका काठमाडौंसहितका केही जिल्लामा भने पालिका अधिवेशन हुने प्रक्रियामा छ ।

कांग्रेसले अझै पनि १३ जिल्लामा वडा अधिवेशन कहिले गर्ने भन्ने टुङ्गो लगाउन सकेको छैन । आइतबार मात्रै कांग्रेसले पछिल्लो पटक वडा अधिवेशन गर्न बाँकी १३ मध्ये ५ जिल्लाको सदस्यता सार्वजनिक गरेको छ । तर अझै पनि प्रदेश २ सहितका केही जिल्लाको सदस्यता विवाद समाधान हुन बाँकी छ । ती जिल्लामा एकै पटक वडा अधिवेशन गर्ने कांग्रेसको तयारी छ ।

अधिकांश जिल्लामा वडा अधिवेशन सकेर पालिका अधिवेशन हुँदै गर्दा कांग्रेसले जिल्ला अधिवेशनअघि प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्नु पर्ने छ । त्यसपछि मात्रै जिल्ला अधिवेशन हुनेछन् । तर हिमाली जिल्लामा भने धेरैजसो एउटै निर्वाचन क्षेत्र छ ।

कांग्रेसले बनाएको कार्यतालिका अनुसार १२ असोजमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ । यस्तै एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा १५ असोज र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा १८ असोजमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तोकेको छ । 

दुई निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति पदको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि अनिवार्य हुनु पर्छ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने क्षेत्रीय प्रतिनिधि नै सभापतिको उम्मेदवार हुन पाउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ