arrow

विकास साझेदारहरूद्वारा पुनर्निर्माण प्रगतिको प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
nas-punnirman.JPG

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरूको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धिहरू हासिल भएको निष्कर्ष निकालेको छ । सोमवार सम्पन्न समितिको १० औँ बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाइहरू सम्प्रेषण गर्न मङ्सिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारहरूबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ ।

बैठकले विकास साझेदारहरूबाट पुनर्निर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिहरूलाई ग्रहणसमेत गरेको छ । कार्यक्रममा विश्व बैङ्क, एडिबी, युएनडिपी, जाइका, एफसिडिओ, युएसएआइडी, युनिसेफ, युएनओपिएस लगायतका विकास साझेदार निकायका नेपाल प्रमुख तथा प्रतिनिधिहरूले नेपालको पुनर्निर्माणमा आ-आफ्ना निकायको प्राविधिक तथा वित्तीय सहयोग तथा प्रगतिहरूको बारेमा धारणा राखेका थिए ।  

एसियाली विकास बैङ्कका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले मन्तव्य राख्दै भूकम्पपछिको सफल पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि प्राधिकरणलाई बधाई दिए । काउचोइसले नेपालको उत्थानशीलतामा प्राधिकरणसँग सहकार्य गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै बाँकी रहेका कामहरू सम्बन्धित निकायमा हस्तान्तरणको प्रक्रिया सहज ढङ्गले हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, विश्व बैङ्कका वरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अकबरले विपद् जोखिम न्यूनीकरण गरी उत्थानशील नेपाल निर्माणको उद्देश्यलाई विश्व बैङ्कको सहयोग निरन्तर रहने बताउँदै देशैभरका विद्यालयहरूको संरचनात्मक सामर्थ्य अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गरेको जानकारी दिए ।

जाइकाकी कन्ट्री डाइरेक्टर युमिको आसुकुमाले जाइकाको सहयोग केवल भूकम्पपछिको भौतिक पुनर्निर्माणमा मात्र नभएर आगामी दिनमा आउन सक्ने विपद् जोखिम न्यूनीकरणका लागि पनि भएको बताउँदै अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्नका लागि सहयोग गर्न तयार रहेको जानकारी दिए ।

समितिका अध्यक्ष एवं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माणमा मित्र राष्ट्रहरू एवं विकास साझेदारहरूबाट प्रदान गरिएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गरे ।

अन्तर्राष्ट्रिय सम्मेलन आयोजनामा विकास साझेदार संस्थाहरूको संलग्नता र सहकार्यको ढाँचाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्मेलनमा उच्चस्तरको सहभागिताका लागि आग्रह गरे ।पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभवहरू अन्तर्राष्ट्रिय समुदायसामु बाँड्ने उद्देश्यले यही मङ्सिर २१-२३ मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणका लागि भइरहेको विपद् उत्थानशील ढाँचाको तयारीबारे बैठकलाई जानकारी दिएका थिए । यससम्बन्धी ढाँचालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित मन्त्रालय तथा निकायसँगको पृष्ठपोषणसहित अन्तिम रूप दिई आगामी सम्मेलनमा प्रस्तुत गर्ने सहमति पनि बैठकमा बनेको छ ।

कार्यक्रममा समितिका सदस्य-सचिव एवं प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले सहभागीहरूलाई स्वागत गर्दै बैठकका एजेन्डाहरू प्रस्तुत गर्नुभएको थियो । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा यसमा विकास साझेदारहरूबाट गरिएको अपेक्षाबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव भगवान् अर्यालले पुनर्निर्माणमा हालसम्म प्राप्त उपलब्धिहरू, विकास साझेदारहरूबाट प्राप्त सहयोग तथा प्राधिकरणको बहिर्गमन योजनाबारे समितिलाई जानकारी गराए ।  

भौतिक उपस्थिति र भर्चुअल माध्यमको मिश्रित मोडलबाट आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो । विकास सहायताद्वारा सञ्चालित पुनर्निर्माणसम्बन्धी कार्यमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार एवम् नागरिक समाजका बिच आवश्यक समन्वय र सहजीकरण गर्ने/गराउने उद्देश्यले २०७३ कार्तिकमा समितिको गठन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ