arrow

स्वीट्जरल्याण्डको पुल डिजाइन, निर्माण र मर्मत प्रविधि सम्बन्धी छलफल नेपालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
swiss-design-presentation.jpg

काठमाडौँ । नेपाल जस्तै भौगोलिक बनावट भएको पहाडी मुलुक स्वीट्जरल्याण्डको पुल डिजाइन, निर्माण र मर्मत सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। 

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्, स्केफ नेपालको आयोजना र स्वीस सरकारको सहायतामा सञ्चालित स्थानीय सडक तथा पुल सहयोग इकाइ(एलआरबीएसयू) को प्राविधिक सहयोगमा उक्त कार्यक्रम बैशाख २३ र बैशाख २८ गते गरी दुई चरणमा  सम्पन्न भएको थियो ।

श्रोत व्यक्ति तथा वरिष्ठ पुल डिजाइन, निर्माण तथा मर्मत सम्भार विज्ञ डा. क्रिष्टियन सेलेनवर्गले स्वीट्जरल्याण्डको पुल निर्माणको इतिहास, आधुनिक पुलहरूको डिजाइन र मर्मत सम्भारका योजना तरिका र प्रविधिको बारेमा प्रस्तुतीकरण गरेका थिए । साथै उनले स्वीस प्रविधि र अनुभवबाट नेपालमा संचालन भइरहेका पुल निर्माण र मर्मत सम्बन्धी आयोजनाको बारेमा जानकारी पनि दिएका थिए ।
 
पुलको उपयुक्त डिजाइन गुणस्तरीय निर्माण र पुर्ण आयुसम्म सञ्चालन गर्नको लागि गर्नुपर्ने मर्मत संभारका योजना प्रविधि र मर्मत चक्रका बारेमा विस्तृत प्रस्तुति गरेका थिए । 

स्थानीय सडक तथा पुल सहयोग इकाइका टिम लिडर तथा  पुल सम्बन्धी वरिष्ठ इन्जिनियर सकिल मानन्धरले आफ्नो विचार व्यक्त गर्दै विज्ञको प्रस्तुतीकरणमार्फत सरकारी तथा गैर सरकारी क्षत्रमा कार्यरत प्राविधिकहरुलाई विषयगत ज्ञान हासिल गर्ने अवसर प्रदान गर्ने कार्यक्रम आयोजना गरेकोमा स्केफ नेपाललाई धन्यवाद दिँदै यस कार्यक्रममा प्राविधिक रुपमा सहयोगी भूमिका निभाउन पाउँदा खुशी लागेको बताए । 

सडक विभाग पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले संसारकै उच्चतम प्रविधि र प्रक्रियाको बारेमा ज्ञान हासिल गर्न पाउँदा खुशी लागेको र यस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने र यस्ता कार्यक्रमहरुको निरन्तरताको लागि सडक विभागको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै उनले राज्यका तर्फबाट नै हुनुपर्ने यस्ता कार्यक्रमहरु स्वतः स्फूर्त रूपमा निरन्तर आयोजना गरिरहेकोमा स्केफ नेपाललाई धन्यवाद दिएका थिए । 

सोही अवसरमा सडक विभाग पुल सेक्टर २ की प्रमुख इन्जिनियर आरती साहले निर्माण क्षेत्रसँग सम्बन्धित सरकारी परामर्शदाता र निर्माण व्यवसायी तिनै पक्षका प्राविधिकहरुको समानान्तर क्षमता अभिवृद्धिकरणको लागि स्केफ नेपालले उदाहरणीय कार्य गरिरहेको र आफ्नो तर्फबाट यस्ता कार्यक्रमहरुको अधिकतम सहभागिता, सदुपयोग र सहयोग रहने जानकारी गराइन् । 

स्केफ नेपालका महासचिव एवं तालिम निर्देशक ई कमल कार्कीले एकै किसिम र तहका शिक्षा लिएर पनि सधै विदेशीहरुको सहयोगमा भरपर्नु पर्ने स्थिति कायम रहनु दुःखद भएको र यसले नेपाली निति निर्माण र कार्यान्वयनमा संलग्न प्राविधिकहरुको इच्छा शक्ति र नैतिकतामा गम्भीर प्रश्न चिन्ह खडा भएको बताउँदै सीप वृद्धि र क्षमता अभिवृद्धिकरणको कार्यमा स्केफ नेपाल अनवरत लागिरहने बताए । 

कार्यक्रममा सडक विभाग, स्थानीय पुर्वाधार विभाग, निर्माण व्यवसायी तथा परामर्शदातृ संस्थाहरुका ४५ जना इन्जिनियरहरुको सहभागिता रहेको थियो ।  

स्केफ नेपालका महासचिव कार्कीले सम्पूर्ण सहभागी तथा सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रम सफल पार्न उल्लेखनीय भूमिका खेल्ने स्थानीय सडक तथा पुलसहयता इकाइका वरिष्ठ इन्जिनियर निलन प्रजापति, सडक विभाग पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारी र श्रोत व्यक्ति डा. कृष्टियन सेलेनवर्गलाइ विषेश धन्यवाद व्यक्त  गरेका थिए । 

उक्त कार्यक्रममा महासचिव कार्कीले सहयोगी संस्थाहरुलाई मायाको चिनो प्रदान गरे पश्चात् समापन भएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ