arrow

कांग्रेस महाधिवेशन: थप तीन जिल्लाको क्रियाशीलताको टुंगो, अब पाँच जिल्लाको मात्र बाँकी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
congress-14th-general-convention.jpg

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । अब पाँच जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ ।

पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । अब पर्सा, रसुवा, सप्तरी, रौतहट र बाराको क्रियाशीलताको टुंगो लाग्न बाँकी छ ।

कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।

हालसम्म १२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको र ती सबै जिल्लाको क्रियाशील सदस्यताको सूची प्राप्त हुनासाथ एकै दिन वडा अधिवेशन प्रारम्भ गरिने उनले बताए । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

कांग्रेसले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँअघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने र हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टीले यसअघि नै गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ