- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै भिड्ने मनस्थिति बनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकसमेत बहिस्कार गरेपछि एमाले एक्लै भिड्ने मनस्थितिमा रहेको बुझिन्छ ।
एमालेले योसँगै लगातार दुई वटा सर्वदलीय बैठक बहिस्कार गरेको छ । संघीय संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठक पनि एमालेले बहिस्कार गरेको थियो । उक्त बैठक बहिस्कार गरेरै सभामुखलाई जवाफ दिएको एमालेले यसपालि प्रधानमन्त्रीकै आह्वानलाईसमेत लत्याएर एक्लै भिड्ने मनस्थिति बनाएको बुझिन्छ ।
एमालेका एक नेताका अनुसार जहाँ नेकपा एकीकृत समाजवादी हुन्छ त्यहाँ एमाले नजाने सन्देश दिइएको छ । उनका अनुसार एमालेको लडाइँ नै अहिले नेकपा एस गठन सम्बन्धी हो । एमालेले कारबाही गरेका १४ सांसद मिलेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एस गठन भएको हो ।
एमालेले आफूले कारबाही गरेका सांसदलाई संसदभित्र प्रवेश गर्ने अनुमति दिनु गैरकानूनी हो भनिरहेको छ । एमालेले सभामुखको राजीनामासमेत मागेको छ । तर नेकपा एस गठन र सांसदहरुको कारबाही सम्बन्धमा संसदमा मुद्दा विचाराधीन रहेको छ ।
एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेसँगै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बसेर अवरुद्ध संसद खुलाउनुका साथै समसामयीक विषयमा कुराकानी गर्न खोजिरहेका थिए ।
तर एमालेले नै बैठक बहिस्कार गरेपछि यो बैठकको औचित्य पनि बैठक बस्नुअघि नै सकिएको छ । जुन सन्देश एमालेले सभामुखको सर्वदलीय बैठक बहिस्कार गरेर दिएको थियो त्यही सन्देश देउवाले बोलाएको बैठक बहिस्कार गरेर दिएको छ ।
यो बैठक बहिस्कार गरेसँगै सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी बीचको दूरी झन् बढेको छ ।
देउवाले बिहीबार बिहान १० बजेलाई बैठक बोलाएका हुन् । यो बैठक बहिस्कार गरेसँगै एमाले सहमतिका लागि तयार छैन भन्ने स्पष्ट हो । र उसले आफ्नो बटमलाइन नछाड्ने सन्देश दिइसकेको छ ।
एमालेले कारबाही गर्नुपर्ने भनिएका सांसदहरुको जोडबलबाटै अहिलेको सत्ता गठबन्धन चलेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बिहीबार बिहानमात्रै हाम्राकुरासँगको कुराकानीमा सहभागीता र रणनीति बारेमा अझै टुङ्गो लागिनसकेको बताउँदै केही बेरमा तय हुने बताएका थिए ।
तर त्यसपछि उनले पनि मोबाइल स्वीच अफ गरेर बसेका छन् । अर्थात् एमालेले तत्कालका लागि बैठक बहिस्कार गरे पनि अबको रणनीति तय गरिसकेको छैन ।
सम्भवतः एमाले शुक्रबारदेखि शुरु हुने विधान महाधिवेशनको तयारीमा लागेको छ ।