arrow

रोकायाले छोडे माओवादी, हजारौँ कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
prakash-rokaya.JPG

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का तत्कालीन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निष्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए । 

रोकायाले आफू फेरी नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि स्पष्ट पारे । एमालेमा जानको लागि अहिले नेताहरूसँग अन्तिम छलफल भइरहेको उल्लेख गर्दै रोकायले भने-‘कम्युनिस्ट आन्दोलन बचाउनको लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिए पनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु ।’ 

देश जनता र कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पूर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरूले गम्भीर भएर सोच्ने दिन आएको उनको भनाई थियो ।  उनले कम्युनिस्ट आन्दोलन बचाउनको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइरहेको बताए । उनले भने-‘अब म मात्र नभएर हजारौँ माओवादी कार्यकर्ताहरू नै एमालेमा प्रवेश गर्नेछन् ।’ 

एमालेमा भएका सबै नेताहरूमा पनि गल्ती-कमजोरी भएको भन्दै सुधारेर जानुपर्नेमा जोड दिए । माओवादी केन्द्रले लाखौँ कार्यकर्ताको भविष्यमाथि खेलबाड गर्दै करोडौँ जनताको इच्छा र चाहना विपरीत अगाडि बढिरहेको पनि उनको आरोप थियो । उनले पार्टी नेतृत्वले जे पनि गर्ने अवस्था आएपछि त्यसका विरुद्ध उभिन परेको जिकिर गरे । सरकार गिराउने, पार्टी फुटाउने र सम्मानित सर्वोच्च अदालतबाट प्रधानमन्त्री चयन गर्न आदेश जारी गर्ने र गराउने जस्ता शक्ति पृथकीकरण सिद्धान्त विपरीतका साथै अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध आफू उभिएको उनले स्पष्ट पारे । 

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वर्गीय सोच र चिन्तनबाट विचलित नेताको रूपमा चित्रण गरे । प्रचण्डले तत्कालीन नेकपाको नेतृत्वको दुई तिहाइ बहुमतप्राप्त कम्युनिस्ट सरकारलाई अपदस्त गर्न भूमिका खेलेको पनि उनको आरोप छ । उनले भने,‘जनताले नरुचाएर प्रतिपक्षमा बसेको नेपाली काँग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डले पटक-पटक काँग्रेस नेतृत्वसँग आग्रह गर्नुभएको थियो, यसमा मेरो गम्भीर असहमति थियो र छ ।’

उनले आफूले २३ वर्षसम्म नेकपा (एमाले) मा रहेर काम गरेको स्मरण गराए । तर,  २०७० सालमा एमाले परित्याग गरेको र २०७१ मा तत्कालीन एकीकृत माओवादीमा  प्रवेश गरेको स्मरण गर्दै रोकायाले प्रचण्ड, कृष्णबहादुर महरा, शक्ति बहादुर बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरूसँग छलफल र संवाद गरेर प्रचण्डकै उपस्थितिमा केन्द्रीय कमिटीको बैठक चलिरहेको अवस्थामा समाहित भएको प्रस्टाए । उनले २०४७ सालबाट अनेरास्ववियुमा आबद्ध भएर प्रारम्भिक कमिटी, इलाका कमिटी हुँदै २०६३ सालमा अनेरास्वियुको केन्द्रीय सदस्यमा रहेर काम गरेको सुनाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ