arrow

काठमाडौं महानगरको नेतृत्वका लागि कांग्रेसको अधिवेशन शनिवार : संस्थापन र इतरका उम्मेदवार मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १४ बिहिबार
ktm city.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको नेतृत्व चयन गर्न आगामी शनिवार निर्वाचन हुँदै छ। काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि कांग्रेस भित्रको संस्थापन समूह र संस्थापन इतर समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । करिब १५ वर्षपछि काठमाडौं महानगरमा नयाँ नेतृत्वका लागि अधिवेशन हुन लागेको हो ।

महानगरको नेतृत्वका लागि सभापति शेरबहादुर देउवा समूहबाट प्रगतिमान रञ्जित मैदानमा छन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट नीलकाजी शाक्य मैदानमा उत्रिदैं छन् ।

कांग्रेसले काठमाडौं महानगरपालिकामा ११औं महाधिवेशनबाट निर्वाचित महानगर सभापति देवरत्न डंगोलको कार्यकाल सकिएपछि १२ औं र १३औं महाधिवेशनमा नेतृत्व छान्न सकेको थिएन । त्यसकारण पनि अब आउने नेतृत्वलाई काठमाडौं महानगरमा आगामी निर्वाचनसँग जोडेर हेरिएको छ ।

काठमाडौं कांग्रेसमा संस्थापन समूहबाट उम्मेदवार बनेका रञ्जितलाई कांग्रेस भित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला समूहकोसमेत समर्थन छ । सो समूहबाट नेता भीमसेनदास प्रधान रञ्जितका पक्षमा मैदानमा उत्रिएका छन् । इतर समूहबाट उम्मेदवार बनेका शाक्यलाई नेता प्रकाशमान सिंह आफैं मैदानमा उत्रिएर सघाइ रहेका छन् । उनलाई काठमाडौं कांग्रेस सभापति सबुज बानियाको पनि समर्थन छ ।

काठमाडौंमा संस्थापन समूहबाट उम्मेदवार बनेका रञ्जितको पक्षमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू ध्यानगोविन्द रञ्जित र अम्बिका बस्नेतसमेत माहौल बनाउन खटिएका छन् । उनलाई काठमाडौं जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्कीको समेत समर्थन छ ।

१५ वर्षको ग्याप मेटेर स्थानीय चुनावमा कांग्रेस नेतृत्व स्थापित गर्छु : रञ्जित

संस्थापन समूहबाट काठमाडौं महानगरका लागि उम्मेदवार बनेका रञ्जितले विगत १५ वर्षको काठमाडौं महानगरमा देखिएको कांग्रेस नेतृत्वको ग्याप मेटेर स्थानीय चुनावमा कांग्रेसको नेतृत्व स्थापित गर्ने बताए ।

उनले आफू काठमाडौं महानगरमा स्थापित पुराना नेता तथा नयाँ सहकर्मी राजनीतिज्ञहरूको साथ लिएर मैदानमा उत्रिएको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसको गतिलाई काठमाडौंमय बनाउने जनाए ।

‘काठमाडौं महानगरमा स्थापित पुराना नेता तथा नयाँ सहकर्मी राजनीतिज्ञहरूको सल्लाह र सुझाव अनुसार उम्मेदवारी दिने निर्णय गरेको हुँ, मेरो लक्ष्य १५ वर्षदेखिको काठमाडौं कांग्रेसमा देखिएको नेतृत्वको ग्यापलाई घटाएर आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसको गतिलाई काठमाडौंमय बनाउनेतर्फ केन्द्रित छ,’ संस्थापन समूहबाट नेतृत्वका लागि मैदानमा होमिएका रञ्जितले हाम्राकुरासँग भने ।

नेपाल तरुण दलको काठमाडौं महानगरको संस्थापक सभापति रञ्जित पार्टीको क्षेत्र नम्बर ६ को पूर्वसचिवसमेत हुन् । उनी काठमाडौं कांग्रेसको आमन्त्रित सदस्य पनि भइसकेका छन् । उनले आफ्नो उम्मेदवारी अग्निपरीक्षा भएको भन्दै आफूलाई मत दिँदा आफ्नो विषयमा बुझेर र भरोसा गरेर मात्र दिन समेत काठमाडौं कांग्रेसका नेताहरूसँग आग्रह गरे ।

सबै वडामा कांग्रेस जिताउँछु : शाक्य

संस्थापन इतर समूहबाट काठमाडौं महानगरको नेतृत्वका लागि मैदानमा उत्रिएका शाक्यले स्थानीय तहको निर्वाचनमा आफू महानगर कांग्रेसको नेतृत्वमा आए काठमाडौंका सबै वडामा कांग्रेसको नेतृत्व स्थापित गर्ने बताए ।

‘काठमाडौंबाटै कांग्रेसलाई बलियो बनाउनु छ, त्यसका लागि म नेतृत्वमा आए काठमाडौंका सबै वडामा कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा जिताउने गरेर काम गर्छु,’ शाक्यले भने ।

उनी हाल काठमाडौं महानगरपालिका वडा नम्बर २५ का निर्वाचित वडा अध्यक्षसमेत हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि सक्रिय राजनीतिमा जोडिएका शाक्य २०४४ सालमा पब्लिक युथ क्याम्पसको स्ववियू सभापति बनेका थिए । शाक्य नेपाल तरुण दलको संस्थापक केन्द्रीय सदस्यसमेत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ