arrow

दार्चुलामा यात्रु र नागरिक सहायता कक्ष स्थापना

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ असोज १४ बिहिबार
darchula-traffice.JPG

दार्चुला । दसैँ, तिहारलाई लक्षित गर्दै दार्चुला प्रहरीले यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुला र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले बिहिवार वीरेन्द्र वनस्थित बस पार्क क्षेत्रमा यात्रु सहायता कक्ष र नेपाल-भारत सीमा क्षेत्र खलङ्गा पुलघाटमा नागरिक सहायता कक्षको स्थापना गरेको हो ।

दसैँ, तिहार जस्ता चाडपर्वको बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए । ‘दसैँ तिहारलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो, प्रहरी नायव उपरीक्षक भट्टले भने, यो बेला हुने यात्रुको चाप, ठगिने सम्भावना, सवारी साधनमा क्षमता भन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र नागरिकको समस्या सहजताका लागि सहायता कक्षले सहयोग गर्नेछ । ’

यात्रु र नागरिक सहायता कक्षको उद्घाटन गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले कोरोनाको जोखिम कायमै रहेको हुँदा यात्रा गर्दा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न यात्रुलाई आग्रह गरे । साथै उनले तोकिएको भाडा दर भन्दा एक रुपैयाँ पनि बढी नलिन सवारी चालकहरूलाई आग्रह गरे । सीमामा नागरिक सहायता कक्ष स्थापनाले नागरिकलाई सहज हुने भन्दै यसको निरन्तरता र सहज वातावरणका लागि भूमिका खेल्न प्रहरीलाई निर्देशन दिए ।

सीमा पुल भएर आवत जावत गर्ने नागरिकले आफूलाई समस्या परेमा सुरक्षाकर्मीबाट सहयोग लिन सक्नेछन्, भने बसपार्क क्षेत्रमा स्थापना गरिएको यात्रु सहायता कक्षबाट यात्रुहरूले जुनसुकै समस्यामा पनि सुरक्षाकर्मीको सहयोग लिन सक्ने बताइएको छ । यात्रुहरूलाई असुरक्षा महसुस भए अथवा कुनै समस्या परेमा जिल्ला प्रहरी कार्यालयको फोन नम्बर ९३-४२०१९९ र पैसा नलाग्ने नम्बर १०० मा फोन गरी तुरुन्तै प्रहरीलाई खबर गर्न भनिएको छ । 

यस्तै भारतसँग सीमा जोडिएका दार्चुलाका सबै नाकाका झोलुङ्गे पुलहरूमा नागरिक सहायता कक्ष स्थापना हुने जनाइएको छ । महाकाली नगरपालिकाको धाप, दत्त, मालिकार्जुन गाउँपालिकाको पस्ती, मालिकार्जुन र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा सहायता कक्ष स्थापना गरिने प्रहरी नायव उपरीक्षक भट्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ