arrow

कसैसँग पनि वैरभाव नराख्नु एमालेको विदेश नीति: केपी शर्मा ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १५ शुक्रबार
uml-bidhan-meet-2078.jpg
तस्बिर : रासस

ललितपुर। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। शुक्रवारबाट ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सुरु भएको विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले कसैसँग पनि वैरभाव नराख्नू आफ्नो पार्टीको विदेश नीति भएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पार्नु भयो । उनले छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । 

उनले भने, ‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस भन्ने चाहन्छौँ । यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ । नेपाल एक चीन नीतिमा अडिग छ । नेपाल भारत सीमा वारपार अपराध नहोस् र आतङ्ककारीले लाभ उठाउन नपाउन भन्ने कुरामा भारतको चासो देखिन्छ ।' 

ओलीले आफ्नो पार्टी छिमेकीहरूको जायज चासो प्रति सजग रहेको बताएका छन्। यस्तै सजगता र सम्मान मित्रहरूसँग पनि चाहने बताएका छन्। 

उनले भने 'भारतसँगको व्यापार घाटा लिपुलेक, लिम्पियाधुरा र कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता र सीमाको व्यवस्था हुने अनावश्यक चासो जस्ता विषयमा नेपालको चासो र सरोकार रहेको छ । हामी हाम्रा छिमेकीको जायज चासोप्रति सजग छौँ । त्यस्तै सजगता र सम्मान हामी हाम्रा मित्रहरू छिमेकीहरूबाट पनि चाहन्छौँ । दुई देशबीचको समस्याहरूलाई जिम्मेवारी कूटनीतिक पहलको माध्यमबाट समाधान गर्न हामी चाहन्छौँ । हाम्रो विदेश नीति सबैसँग मित्रतापूर्ण सम्बन्ध राख्नु र कसैसँग पनि वैरभाव नराख्नु हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ