arrow

काठमाडौंमा कांग्रेसको पालिका अधिवेशन हुँदै, दक्षिणकालीमा नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
Congress-convention-14-nepa.jpg

काठमाडौं। नेपाली कांग्रेस काठमाडौंको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो ।

काठमाडौंका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् । नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ ।  

काठमाडौंका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौं महानगरपालिकासहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिए । काठमाडौँको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ । दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै रहेकाले उक्त पालिकामा आज निर्वाचन सम्पन्न गर्न नसकिएको आचार्यले बताए । 

चन्द्रागिरि नगरपालिकामा सर्वसम्मत सभापति चयन हुने वातावरण बनेको छ । पार्टीका सबै पक्ष नगर प्रमुखसमेत रहनुभएका घनश्याम गिरीलाई सभापति बनाउन सहमत भएको जनाइएको छ । यसैगरी गोकर्णेश्वर नगरपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयनको तयारी भएको कांग्रेस नेताले जनाएका छन् । दक्षिणकाली नगरपालिकामा भने विवादका कारण स्थगन गरिएको छ ।

कीर्तिपुर, नागार्जुन, तारकेश्वर, टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा पनि आज नगर अधिवेशन गरिँदै छ । अधिवेशनको कार्यक्रम बिहान ८ः०० बजेदेखि नै शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलुका ५ः०० बजेपछि निर्वाचन कार्यक्रम नराख्न नगर निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन भएका सबै जिल्लामा दसैँअघि नै स्थानीय तहको अधिवेशन गर्न निर्देशन दिएको सचिव वरिष्ठ अधिवक्ता जगन्नाथ श्रेष्ठले बताए ।

मुलुककै सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको राजधानीमा हुने पालिका अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । केन्द्रीय निर्वाचन समितिले हाल देशभरका ७० भन्दा बढी जिल्लाको क्रियाशील सदस्यता टुङ्ग्याएर अधिवेशनका लागि मार्गप्रशस्त गरिसकेको छ भने केही जिल्लाको क्रियाशील सदस्यता विवादलाई भने टुङ्ग्याउन सकेको छैन । कांग्रेसले आगामी मङ्सिर ९ देखि १२ गतेसम्मका लागि केन्द्रीय महाधिवेशनको कार्यतालिका यसअघि नै तोकिसकेको छ । 



नयाँ