- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसले १३ जिल्लामा दसैँपछि मात्रै वडा अधिवेशन गर्ने भएको छ। तर कहिले गर्ने भन्ने तय भएको छैन। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन बाँकी छ।
कांग्रेसले अझै चार जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छैन । रसुवा, सप्तरी, रौतहट र बाराको क्रियाशीलताको टुङ्गो लाग्न बाँकी छ ।
कांग्रेसले पछिल्लो पटक गत बिहीबार राती पर्सा जिल्लाको सदस्यता सार्वजनिक गरेको थियो । त्यसअघि गत मङ्गलवार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक भएको थियो ।
कांग्रेस निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले अब चार जिल्लाको मात्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी रहेको बताए ।
कांग्रेस उच्च स्रोतका अनुसार अब वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा एकै पटक दसैँपछि वडा अधिवेशन हुनेछ । ति जिल्लाका लागि तोकिने निर्वाचन अधिकृत कानुन व्यवसायीहरूले नै दसैँपछि मात्रै अब अधिवेशन गर्न सकिने निर्वाचन समितिलाई भनेका छन् ।
सो विषयमा निर्वाचन समितिले पार्टी नेतृत्वलाईसमेत जानकारी गराइसकेको निर्वाचन समितिले बताएको छ । निर्वाचन समितिको बैठक अहिले जारी छ ।
कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गाउँ÷नगर अधिवेशन गरिरहेको छ भने केही जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनसमेत जारी छ । यस्तै केही जिल्लामा जिल्ला अधिवेशनसमेत सुरु भइसकेका छन् ।