arrow

नेपाली व्यापारीले दसैँमा बेच्न ल्याएको सयौँ ट्रक सामान चिनियाँ नाकामै रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
tatopani-border.jpg.jpeg

काठमाडौं। नेपाली व्यापारीहरूले गत वर्षदेखि नै उत्तरी नाकाबाट तनाव झेल्दै आएका छन् । यस वर्ष पनि दसैँ तिहारका लागि चीनबाट खरिद गरेर ल्याएको सामान नेपाल भित्रिन नपाउँदा नेपाली व्यापारीहरू झनै मर्कामा परेका छन् ।

अहिले रसुवागढी नाकाबाट दैनिक ९ कन्टेनर (नेपाली १८ गाडी) र तातोपानी नाकाबाट दैनिक १५ जति कन्टेनर नेपाल भित्रिने गरेको छ ।

तर, नेपाली व्यवसायीकाे सामान बाेकेका सयौँ कन्टेनर लाइनमा रहँदा समयमै सामान नेपाल नभित्रिने उनीहरूको चिन्ता छ । 

दसैँका लागि रकम जुटाएर सामान खरिद गरेका व्यापारीको सामान दसैँ अघि नभित्रिँदा स्वतः घाटा हुने नेपाल हिमालय सिमापार वाणिज्य सङ्घका अध्यक्षमा अशोक कुमार श्रेष्ठले बताए ।

'दसैँका लागि ल्याउन खोजेको सामान दसैँअघि नभित्रिए, त्यो सामान अर्को दसैँमा बेच्नुपर्छ, त्यति बेलासम्म त्यो पैसाको ब्याज हुन्छ, गोदाममा राख्नु पर्याे गोदामको भाडा, सामान बिग्रिन्छ अनेकौँ समस्या हुन्छ,' उनले भने ।

अहिले ३ सयभन्दा बढी कन्टेनर सीमामा लाइनमा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

'चिनियाँ पक्षले महामारीको निहुँमा नाकाबाट दैनिक १० वटा कन्टेनर पठाइरहेको छ यसले के हुन्छ ? महामारी भन्दा अघि जस्तै खुला गर्याे भने मात्रै हुन्छ, हामीले निर्यात पनि गर्न पाएका छैनौँ, निर्यात पनि गर्न पाउनुपर्छ,' उनले अघि भने ।

नाकामा समस्या भएको विषयमा आफूहरूले वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र समेत बुझाएको उनले बताए ।

'कूटनीतिक पहल भएर हुन्छ या जसरी हुन्छ' सरकारी निकायबाट समस्या समाधान हुनुपर्ने उनको भनाइ छ ।

यस विषयमा वाणिज्य दूतावास ल्हासाका वाणिज्यदुत नवराज ढकालले भने सरकारले पूर्ण रूपमा पहल गरिरहेको बताएका छन् ।

'महामारीका बेला बन्द भएकाे नाका सुरूमा खुल्दा दैनिक तीन वटा कन्टेनर नेपाल आउने गरेका थिए, अहिले दुवै नाकाबाट गरेर २० भन्दा बढी कन्टेनर नेपाल भित्रिन थालेका छन्,' उनले भने ।

यद्यपि, चिनियाँ पक्षले कोभिड-१९को महामारीलाई लिएर स्वास्थ्य मापदण्ड कडाइका साथ लागु गरिरहेकै कारण धेरै कन्टेनर नेपाल प्रवेश गर्न नपाइरहेको उनको भनाइ छ । 

तर, नेपाली व्यवसायीलाई दसैँको सामान भित्रिन नपाउँदा समस्या भएको र यसको समाधानका लागि निरन्तर परराष्ट्र मन्त्रालयबाट र वाणिज्य दूतावासबाट छलफल भइरहेको वाणिज्यदुत ढकालले बताए ।

'गत वर्षभन्दा यो वर्ष नाकामा सहजता भएको छ, हामीले थप कन्टेनर नेपाल प्रवेश गर्न दिन निरन्तर छलफल गरिरहेका छौँ, यता(चिनियाँ)तर्फको कोभिड प्रोटोकलका कारण नेपाली व्यवसायीलाई समस्या हुन पुगेको हो,' वाणिज्यदुत ढकालले भने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ