- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। झन्डै २ वर्षदेखि चलिरहेको कोरोना भाइरसको महामारीको त्रास कम हुँदै गएको छ । गत वर्ष चाडपर्वको समयमा भन्दा यो वर्ष निषेधाज्ञा लगभग पूर्ण रूपमा खुकुलो भएको छ । दसैँले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सेकेको छैन । तर मूल्य पनि गत वर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको व्यापारीहरूले बताएका छन् ।
यस वर्ष काठमाडौं उपत्यकाका व्यापारिक केन्द्र लगनखेल, असन, भृकुटीमण्डपलगायतका क्षेत्रमा मानिसहरूको चहलपहल पनि बाक्लो देखिन्छ। दसैँ तिहारको किनमेलका लागि काठमाडौँका व्यापारिक क्षेत्रका गल्लीहरूमा मानिसहरूको निकै भीड छ । तर, पनि व्यापारीहरूले भने व्यापारमा चित्त बुझाएका भने छैनन् । काठमाडौंको असन क्षेत्रका व्यापारीहरू यो वर्षको व्यापार गत वर्ष भन्दा झनै खराब रहेको बताउँछन् । यस वर्षको व्यापार गत वर्षभन्दा खराब रहेको महाबौद्ध स्थित दिव्य इन्टरप्राइजेजकी सञ्चालक विद्या उप्रेतीले बताइन् ।
दसैँ सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरूको चहलपहल बढ्न थालेको छ । नयाँ कपडा लगाउन दसैँ कुर्ने बानी हटी नसकेका कारण पनि बजारमा भीड बढेको हो । तर, बजारमा आफूहरूले चाहे जस्तो सामान नहुँदा ग्राहकहरू भने निराश भएर फर्कन बाध्य भएका छन् भने सामान पाए पनि धेरै महँगो भएको प्रतिक्रिया समेत दिएका छन् ।व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइरहँदा बजारमा भीड लाग्ने क्रम भने दिनहुँ बढिरहेको छ ।
'नेपाली सामान बेच्ने व्यापारी, ठुला व्यापारीहरूलाई थाहा भएन, बाहिरबाट आएको सामान बेच्ने हामीहरूलाई भने गाह्रो छ,' व्यापार छैन, उप्रेतीले भनिन् ।
खास गरी चीनबाट सामान भित्र्याएर व्यापार गर्ने व्यापारीहरू मर्कामा परेको बताउँछन् । चीनले नाकामा तनाव दिएर समयमै सामान भित्र्याउन नपाउँदा समस्या भएको बढी जसो व्यापारीहरूको गुनासो छ ।
खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायतका क्षेत्रमा आउने ग्राहकहरूले लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महँगो रहेको बताएका छन् । यस्तै, उनीहरुले बजारमा नयाँ सामानहरू नदेखिएको पनि बताएका छन् ।
चीनले नेपाली सामान बोकेका कार्गो कन्टेनर नेपाल आउन नदिएर बिना कारण रोक्ने गर्दै आएको छ । हजारौँ कार्गो कन्टेनर लाइनमा रोकेर दैनिक १० २० वटा मात्रै नेपाल पठाउन दिने चिनियाँ रणनीतिले नेपाली व्यापारीहरू मर्कामा पर्ने गरेका छन् ।
यस पटक समेत चीनबाट समयमै सामान भित्रिन नपाउँदा उपत्यका बाहिर सामान लैजाने व्यापारीहरू रित्तै फर्किदा व्यापार कम भएको महाबौद्धका एक अर्का व्यापारीले बताए ।
उनीहरूले दसैँलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको तथा भन्सारको मूल्याङ्कन पनि बढेको कारण महँगी बढेको बताएका छन् । उनीहरूको अनुसार यो वर्ष २० प्रतिशत भन्दा धेरै मूल्यवृद्धि भएको छ । व्यापारीहरूले ग्राहकहरूको आगमन कम हुँदा व्यापार पहिलेको भन्दा खस्किएको पनि बताएका छन् । उनीहरूले दसैँ सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोबाइल खेलाएर दिन काट्न बाध्य हुनुपरेको पनि गुनासो गरे ।
महामारी सुरु भएदेखि नै व्यापार डामाडोल रहेको अर्का व्यापारी टुकप्रसाद दाहालको भनाइ छ । 'बजारमा केही चहलपहल देखिए पनि व्यापार भएको छैन, महामारीले खायो, डामाडोल छ,' उनले भने ।
यस्तै बजारमा किनमेलका लागि आउने ग्राहकको सङ्ख्या समेत कमी भएको व्यापारीहरूको भनाइ छ । 'विगतमा जस्तो भिडभाड नभएको र किनमेल गर्ने मानिसको सङ्ख्यामा समेत कमी आएको,' असनका व्यापारी बताउँछन् ।
सामानको मूल्य महँगो हुँदा समेत व्यापार घटेका असनका अर्का व्यापारीकाे भनाइ छ । 'सामान महँगो भइसक्यो, महामारी चलेकै छ, किन्ने मान्छे छैनन्,' व्यापार छैन उनले भने ।
समग्रमा हेर्ने हो भने, यस वर्षसमेत काठमाडौँमा सोचे जस्तो व्यापार फस्टाउन नसकेको देखिन्छ । महामारी सुरु हुँदा गत वर्षदेखि व्यापार सुस्ताएको थियो ।
'नाकामा समस्या भएर बेलामै सामान नभित्रिँदा, किनमेल गर्ने मानिसको सङ्ख्या घट्दा एवं सामानको मूल्य बढ्नु' लगायतका कारणले व्यापार राम्रो हुन नसकेको व्यापारीहरूको भनाइ छ ।