arrow

ओझेलमा कांग्रेस महाधिवेशन : १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
congress-14th-general-convention.jpg

काठमाडौं। नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि कांग्रेस महाधिवेशन ओझेलमा परेको छ।

सभापति शेरबहादुर देउवाले पार्टीका काममा भन्दा सरकारका काममा बढी ध्यान केन्द्रीत गर्न थालेपछि कांग्रेस महाधिवेशनको पूर्वनिर्धारित मिति प्रभावित भइसकेको छ।

निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशनका लागि तय मितिसमेत संसोधन गर्ने तयारी गरिएको छ। यस्तै १३ जिल्लामा अझै पनि वडा अधिवेशन शुरु हुन नसक्दा केन्द्रीय महाधिवेशनसमेत प्रभावित हुने देखिएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रदेश र केन्द्रको पूर्व निर्धारित मितिसमेत हेरफेर गर्दै १४औं महाधिवेशनको कार्यतालिका फेरी संसोधन गर्ने तयारी भएको बताए।

यादवले १३ जिल्लामा अझै पनि वडा अधिवेशन शुरु नभएकाले प्रदेश अधिवेशन र मंसिरका लागि तोकिएको महाधिवेशन केही दिन सर्ने अवस्था सृजना भएको बताएका हुन्।

‘कार्यतालिका अनुसार १३ जिल्लामा अझै पनि वडा अधिवेशन शुरु हुन सकेन, तीन जिल्लाको क्रियाशील सदस्यता अझै सार्वजनिक भएको छैन, कार्यतालिका धेरै नै प्रभावित भइसकेको छ, यसको असरले प्रदेश र केन्द्रका अधिवेशन केही दिन सर्छ,’ संयोजक यादवले भने।

कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न नसकेपछि ति जिल्लाहरुमा त्यसपछिका तहका अधिवेशन हुन सकेको छैन।

पछिल्लो पटक निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ/नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मङ्सिरसम्म काठमाडौंमा हुने उल्लेख छ। यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ।

कांग्रेसले क्रियाशील सदस्यता टुङ्गाउन नसकेपछि वडा अधिवेशन अहिलेसम्म ६४ जिल्लामा मात्रै सम्पन्न भएको छ। अझै १३ जिल्लामा वडा अधिवेशन नै बाँकी छ। धेरै जसो जिल्लामा वडा र पालिका अधिवेशनपछिका अधिवेशनहरु सम्पन्न हुन सकेका छैनन।

निर्वाचन समितिले केही हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ। कांग्रेसले २१ हिमाली जिल्लामा भने कार्यतालिकालाई नघाएर भएपनि जिल्ला अधिवेशन शुरु गरेको थियो।

वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा दशैंपछि मात्रै अधिवेशन गर्ने भनिए पनि अधिवेशनको मिति अनिश्चित छ। प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन बाँकी छ। कांग्रेसले अझै रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छैन।



नयाँ