- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले कांग्रेस क्रियाशील सदस्यहरुको तथ्याङ्क सबै क्रियाशीलले हेर्न पाउने गरी व्यवस्था गर्न माग गरेका छन् । उनले कांग्रेसको तथ्याङ्क सबै क्रियाशीलले हेर्न पाउने गरी व्यवस्था नेतृत्वले नगर्नु दुःखदायी भएको भन्दै उनले आफूहरुलाई नियन्त्रित गर्ने प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, ‘नियन्त्रित अनाथ पाल्तु जनावरलाई पनि मालिकले मैदान पुगेपछि लगामको डोरी खोल्दिन्छ । हामी पनि मैदानमा छौं । तर नियन्त्रित मानव हौं । साइबर डोरीको भरमा हाम्रै विवरण बाँध्ने प्रयास नगरोस् ।’
उनी अगाडि लेख्छन्, ‘परीक्षण विधिले अधिवेशन प्रारम्भ भएका छन् । सवारी साधन निर्माण कम्पनीले निर्मित साधन कति बलियो छ भनेर हेर्न ‘सेफ्टी रेटिङ’ (सुरक्षा मूल्यांकन) गर्दा चालकरहित कार ‘फुल स्पीड’ मा ठोक्काउने गर्छन् । कांग्रेसको दोस्रो वरियताका कार्यकारीसम्मले गाउँ–नगर तथा प्रतिनिधिहरूको अध्यावधिक गरिएको नामावली ठेगाना र सम्पर्क वा विवरणको पहुँचमा वन्चित हुनुपर्यो ।’
पार्टी अपारदर्शी शैलीमा अगाडि बढेको संकेत गर्दै बजगाईले नेतृत्वलाई सचेतसमेत गराएका छन् । उनले अगाडि लेखेका छन्, ‘पार्टीको प्रचार विभाग केन्द्रीय समितिबाट अनुमोदित ‘टीओआर’ बाट संचालित हुनु पर्दछ। झण्डा र निर्वाचन चिन्हको आकार रंगमा एकरूपता हुनु पर्दछ। वृतचित्र, अडियो गीतहरू अनुमोदित हुनु पर्दछ।’
चुनावी प्रचारप्रसारको मापदण्डबारे सचेत पार्दै उनले लेखेका छन्, ‘वर्तमान सभापतिको युवावस्था संघर्षका फुटेजहरू स्वाभाविक रूपमा झल्किनु पर्दछ । आन्तरिक प्रतिस्पर्धा र चुनावी मैदानमा गरिने भद्दा प्रचारशैली सामग्रीमा एकरूपताको टीओआर तत्काल निर्माण गर्नु पर्दछ । अधिवेशन पश्चातको सरसफाई शुल्क निर्धारण गरी राज्यलाई बुझाउनु पर्दछ ।’
उनी अगाडि लेख्छन्, ‘विडम्बना र हेर्दै शर्मित हुनेगरी सानो प्रसंगका मित्रहरूलाई फुटेजमा सजाइएको छ । उहाँहरूलाई नयाँ कुनै आधुनिक गीतको मोडलमा ठाउँसारी गरिनु पर्दछ । टिमुरबोटे घटना, कुलबुलगढी सम्मेलन, वीपी, सुवर्ण, गणेशमान, किसुनजी, जीपी, सुशील अथवा परिवर्तनका लागि लडेको भूगोल र परिवारको चित्र चित्रण हुनु पर्दथ्यो । इतिहास बंग्याएर कुनै दस्ताबेज लेख्न पाइने छैन ।’
अहिलेको क्रियाशील सदस्यको विवाद जस्तो गम्भीर विवाद यसअघि कहिल्यै नभएको उल्लेख गर्दै कांग्रेस नेता बजगाईले ‘कटु यथार्थ यस्तो छ कि १४औं महाधिवेशनको पूर्वसन्ध्यामा भएको क्रियाशील विवाद कांग्रेसको इतिहासमा कहिल्यै भएको थिएन। यस्तो लाग्दैन श्रद्धेय सभापतिबाट कुनै यस्तो निर्देशन भएको होस् ‘डेटा नियन्त्रण गर’ होला पार्टीको डेटामा प्रतिपक्षमा हुँदा आफ़्नो पहुँच खुम्च्याउनु पर्दाको तितो अनुभव होस् ।’, लेखका छन् ।
शक्तिको तीतो यथार्थ दर्शाउँदै उनले लेखेका छन्, ‘हामीअन्यायका विरुद्ध लड्छौं तर स्थापित भएपछि त्यो भन्दा ज्यादा क्रूर बन्छौं। हाम्रो डेटामा कर्मचारीको पहुँच छ रे....। कांग्रेस डेमोक्रेटिक मूल्यमा आधारित पार्टी भएको हुनाले आम प्रतिनिधिहरूलाई लग इन गर्न युजर नेम पासवर्डस् उपलब्ध गराउन माग गर्ने अभिप्रायले यो अभियान कोरेको छु । डेटामा अंकुश वा कुनै पनि डिग्रीको नियन्त्रित संस्कार कांग्रेसलाई सुहाउँदैन ।’