arrow

बल्लबल्ल मन्त्रिमण्डल विस्तार, सरकार कसरी चलिरहेको छ भन्ने प्रस्टै छ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २८ बिहिबार
kp-oli-balkot-meet.jpg

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको बताएका छन् । 

दसैँ, दीपावली, छठ र नेपाल संवत्को अवसरमा बिहीबार झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रस्टै छ । अरू केके भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।”

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले ‘अर्ली इलेक्सन’को सम्भावनासमेत रहेको दावी गरे । आफूले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उनले प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्र गतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गरे ।

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरुद्ध गतिविधि गर्नेको कु प्रचार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गरे । 

उनले दसैँ, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गरे । उनले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आवोस् भनी शुभकामनासमेत व्यक्त गरे ।

विसं २०५० सालदेखि बडादसैँको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृह जिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आएका थिए । गत वर्ष कोभिड–१९ को कारण कार्यक्रम रोकिएको थियो । 

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल,सांसद कोमल वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ