- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। दसैँ सकिएसँगै देशभर पार्टीको गतिविधि चलायमान बनाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ। यसका लागि सबै जिल्ला कमिटीका बैठकहरू बस्ने भएका छन्।
कार्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका बैठक बसेर ६ गते हुने वडा अधिवेशनमा जिल्लाबाट प्रतिनिधि खटाउन लागिएको छ। नियमित रूपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण एकै पटक कार्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुन लागेको हो।
वडा, गाउँ र नगरमा अधिवेशन गरेर काँग्रेसले आफ्नो सङ्गठन चलायमान बनाएसँगै एमालेले सबै तहमा एक साथ वडा अधिवेशन गर्न लागेको हो। मङ्सिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दै छ।
वडा अधिवेशनपछि कार्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ । कात्तिक ६ गते एकसाथ वडा अधिवेशन हुने र अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रबाट सामान्य मापदण्ड पठाइने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन्।
‘सामान्य मापदण्ड केन्द्रबाट जान्छ बाँकी जिल्ला कमिटीले विधान अनुसार निर्णय गर्छन्’, कार्यालय सचिव तामाङले भने। उनका अनुसार एमालेले गाउँ र नगरपछि जिल्ला अधिवेशन पनि गर्नेछ । तर जिल्ला अधिवेशनका लागि समय पर्याप्त हुने सम्भावना निकै कम रहेकाले पुरानै जिल्ला कमिटीलाई मान्यता दिने सम्भावना रहेको छ।
वडा अधिवेशनका लागि एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकै पटक भर्चुअल रूपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिने गरी तयारी गरिरहेको छ।
एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रूपमा रहेको छ। त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन्।
वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने तामाङले बताए। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ। वडा कमिटीकै अधिवेशनबाट विधान अधिवेशनबाट पारित विधान कार्यान्वयनमा आउने भएको छ। वडा कमिटीमा निर्धारित सदस्य सङ्ख्यामा गाउँपालिका/नगरपालिका ३१ जना, उपमहानगरपालिका ४१ जना र महानगरपालिका वडा कमिटीमा ५१ जना सदस्य सङ्ख्याको विधानमा व्यवस्था गरिएको छ। त्यस्तै, गाउँ/ नगरपालिकामा ७५ जना, उपमहानगरपालिकामा ८५ जना र महानगरपालिकामा १०१ जना पालिका कमिटीको सदस्यमा चुनिने छन्।
एमालेको महाधिवेशन आउँदो मङ्सिरमा बुटवलमा हुने बताइएको छ। बुटवलबाट एमालले पाँच वर्षीय नेतृत्व चयन गर्नेछ। नयाँ विधान अनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित २२५ केन्द्रीय सदस्यहरूको चयन हुनेछ।