- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ठोरी ।पर्सा जिल्लाको पर्यटकीय स्थलका रूपमा परिचित ठोरीको नेपाल भारत सीमा क्षेत्रमा १२ वटा नेपालको राष्ट्रिय झण्डा फर्रफराउन थालेको छ । कुनै समय काठमाडौँ, पोखरा जस्ता ठुला सहरका लागि नुन भित्राउने थलोका रूपमा चिनिएको ठोरी पछिल्लो समय देशलाई असहज अवस्था पर्दा निकास दिने थलोका रूपमा चिनिँदै आएको छ ।
भूकम्पपछिको नाकाबन्दीमा यही नाका हुँदै काठमाडौँसम्म पेट्रोल तथा डिजेल भित्रिएको थियो । वीरगन्जबाट करिब ५४ किलोमिटर पश्चिम र चितवन सदरमुकाम भरतपुरबाट करिब ७४ किलोमिटर दक्षिण पूर्वमा रहेको ठोरी पछिल्लो समय राम जन्मभूमिका रुपासमेत परिचित छ ।
त्यही ठोरीको भारतसँग सिमाना जोडिएको ठुटेखोला पुलमा अहिले स्थानीय युवाहरूको पहलमा १२ वटा राष्ट्रिय झण्डा राखिएको छ । सो पुल क्षेत्र साबिकको ठोरी गाविस प्रवेश गर्ने मुख्य थलो थियो भने अहिले नयाँ पुल बनेपछि भारततर्फ प्रवेश गर्ने मुख्य विन्दुका रूपमा स्थापित छ ।
वीरगन्ज-ठोरी हुलाकी सडक खण्डमा पर्ने १०२ मिटर लामो पुलमा २० फिट अग्लो पोल राखेर ठोरीका युवाहरूले १२ वटा राष्ट्रिय झण्डा राखेका हुन् । झण्डा राख्न अगुवाइ गरेका स्थानीय युवा सुदिप थापा ठोरीलाई थप परिचय दिन सीमा क्षेत्रमा नै राष्ट्रिय झण्डा राखिएको बताउँछन् ।
‘विगत देखि नै ठोरीको आफ्नै इतिहास छ, ठोरीले आफ्नै परिचय बोकेको छ, यो नाका हुँदै आउने जो कसैलाई पनि नेपालको झण्डाले नेपाल स्मरण गराओस् भनेर हामीले ठुटेखोला पुलमा राष्ट्रिय झण्डा राखेका हौँ,’झण्डा राख्ने कार्यको अगुवाइ गरेका थापाले हाम्रा कुरासँग भने ।
हाल सो क्षेत्र पर्साको ठोरी गाउँपालिका २ अन्तर्गत पर्छ । सो पुलबाट दक्षिणतर्फ भारतको भिखना ठोरी पर्छ भने, उत्तर पूर्वतर्फ पर्सा राष्ट्रिय निकुञ्जसहित ठोरी गाउँपालिकाका ३, ४ र ५ नम्बर वडा पर्छ । यस्तै उत्तर पश्चिमतर्फ वडा नम्बर १ र २ सहित चितवन राष्ट्रिय निकुञ्ज पर्छ ।
हाल झण्डा राखिएको ठुटे खोला पुल भने ४३५ नम्बर सीमा स्तम्भबाट दशगजा क्षेत्र भन्दा बाहिर पर्छ । सीमा स्तम्भबाट केही पर दक्षिणतर्फ भारतीय भूभागमा भारतीय सीमा सुरक्षा बल एसएसबीको क्याम्पसमेत छ । नेपालतर्फ राई धारा क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प छ ।
झण्डा राख्ने कार्यमा संलग्न अर्का युवा छतेन्द्र आचार्यले पटक पटक सीमा विवाद भइरहने ठोरीमा पुल बनेपछि सीमा विवाद समाधान भएको तथा नेपालको राष्ट्रिय झण्डाले ठोरीको मात्रै नभएर देशकै शान उच्च पार्ने र देशले नै सम्झिने बताए ।
‘यहाँ राखिएको नेपालको राष्ट्रिय झण्डाले ठोरीको मात्रै नभएर देशकै शिर उच्चो बनाएको छ, नेपालीको राष्ट्रियता प्रतिको सम्मान पनि हामीले देखाउन खोजेका हौँ,’आचार्यले भने । उनले ठोरीलाई पर्यटकीय गन्तव्यका रुपासमेत स्थापित गर्ने लक्ष्य राखेर झण्डा राखिएको जानकारी दिए ।
ठोरीमा पर्यटकीय क्षेत्रका रूपमा राईधारा, रानीवन, रेडहिल, सेतो डाँडा, सीता गुफा, सिने पर्वत लगायतका गन्तव्यहरूसमेत छन् । झण्डा राख्ने कार्यमा थापा र आचार्यसँगै धर्म विष्ट, धीर सिंह, सुमन लामा, उमेश गौतम, सफल बुढाथोकी, नारायण सिलवाल, विकल आचार्य र महेश पराजुलीले सहयोग गरेका छन् ।