arrow

पीडितका लागि रकम शीघ्र उपलब्ध गराउन महतको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
prakash-sharan-mahat1623315745.jpg

काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले गत असोज ३१ गतेदेखि नेपालको विभिन्न जिल्लामा परेको भारी वर्षाका कारण गएको पहिरो र बाढी परेर जीवन गुमाएका तथा घर बास क्षतिग्रस्त भएर पराश्रित भएका नेपाली नागरिकको परिवारलाई तत्काल राहत र आवास निर्माणको लागि सरकारले घोषणा गरेको सहयोग रकम यथाशीघ्र उपलब्ध गराउन नेपाल सरकारसंग अनुरोध गरेका छन् ।

डा.महतले आइतबार एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेका हुन् । उनले प्रदेश सरकार र स्थानीय सरकारले दिने राहत रकम पनि समन्वयात्मक ढङ्गले वितरण गर्न सम्बन्धित निकायहरूलाई अनुरोध गरेका छन् ।

काँग्रेस सह महामन्त्री डा. महतले नेपाली काङ्ग्रेससहित अन्य राजनीतिक दलहरूले वर्षा र बाढी पहिरोबाट पीडितहरूको उद्धार, राहत र बसोबासको व्यवस्थाको लागि पहल गर्न गरेको अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गरी राहत सहयोग घोषणा गरेर बाढी, पहिरो र वर्षाले पुर्‍याएको नोक्सानीको स्थलगत निरीक्षणमा स्वयं अग्रसर भएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको पहलकदमीको पनि सराहना गरेका छन् ।

यही कार्तिक ३ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोमा परी जीवन गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने र एकभन्दा बढी सदस्यको मृत्यु भएको भए प्रतिव्यक्ति थप एक लाख रुपैयाँ दिन तथा प्राकृतिक प्रकोपमा परेर आवास गुमाएका, खाद्यान्न बाली तथा जग्गाजमिन र व्यवसाय गुमाएर गुजरा चलाउन समस्या भएका नागरिकको ५ जनाको परिवारलाई १५ हजार र सोभन्दा ठुलो परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने तथा बाढी पहिरोमा परेर घाइते हुने सबैको निःशुल्क औषधोपचार गर्ने निर्णय पनि गरेको थियो ।

सरकारले घर भत्किएर बिचल्ली भएकालाई प्रतिघर ५० हजार रुपैयाँ दिने तथा घर पुनर्निर्माण लागि पहाडमा ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ भने घर निर्माणको लागि जग्गा नभएकाहरूको लागि थप ३ लाख दिने निर्णय पनि गरेको छ ।

सरकारले बाढी पहिरो र वर्षाबाट भएको क्षतिको आङ्कलन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयहरूलाई निर्देशन दिनुका अलवा क्षतिग्रस्त सडक, पुल, विमानस्थलको मर्मत सम्भार गरेर सञ्चालन गर्न, विपद् प्रभावित क्षेत्रमा रोग फैलन नदिन, प्रभावितहरूको उद्धार, राहत र पुरस्थापना वा पुर्नबासको व्यवस्थामा प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको थियो ।
 
असोजको अन्तिम दिनदेखि नेपालको सुदूरपश्चिमबाट पसेको वर्षाले पाकेर भित्र्याउन तयार भएको धान बालीमा ठुलो क्षति पुर्‍याएकोले नेपालका किसानहरू चिन्तित भएको उल्लेख गर्दै नेपाली कांग्रसका सह महामन्त्री डा. महतले भनेका छन्, ”यसैले स्थानीय, प्रदेश र सङ्घीय सरकार बिच समन्वय कायम गरी क्षतिको यथार्थ विवरण सङ्कलन गरेर क्षति अनुसारको सहयोग दिन अत्यावश्यक छ । अन्यथा नयाँ पुस्ताका लागि आकर्षणविहीन र उपेक्षित बन्दै गएको कृषि अरू उपेक्षित हुन सक्ने स्थिति पैदान हुन सक्छ।“

डा. महतले देशभरका किसानहरू पीडित भएको यो दुःखद घडीमा देशका बिमा कम्पनीहरूलाई किसानलाई कृषि बिमाको जानकारी गराएर बाली बिमा गराउन उत्प्रेरित गर्न पनि आग्रह गर्दै भनेका छन्, ” यसले भविष्यमा बालीको क्षतिपूर्ति सहज हुन जानेछ ।“

नेपाली काँग्रेसका सह महामन्त्री डा. महतले बेमौसममा परेको वर्षाले पुर्‍याएको क्षतिले हामीलाई मौसमसम्बन्धी जानकारीलाई गम्भीरतापूर्वक लिन पनि शिक्षा दिएको बताएका छन् ।
 
उनले खास गरी भारतीय उपमहाद्वीप र पश्चिमी अरब सागरमा विकसित हुने मौसमी प्रणालीको प्रत्यक्ष असर नेपालमा पर्ने उल्लेख गर्दै यससम्बन्धी जानकारी विशेष प्राथमिकतासाथ सार्वजनिक गर्न जल तथा मौसम विज्ञान विभागलाई अनुरोध गरेका छन् ।

डा. महतले नेपालका सम्पूर्ण सञ्चार माध्यमहरूलाई पनि मौसमसम्बन्धी समाचारलाई प्राथमिकतामा राखेर लक्षित वर्गमा सूचना प्रवाहित गर्न सहयोग गरिदिन विनम्र अनुरोध गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ