- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसले १४औं महाधिवेशन २४ देखि २६ मङ्सिरसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका संशोधन गरेको छ ।बुधवार २७ देखि २९ मङ्सिरसम्म महाधिवेशन गर्ने प्रस्ताव तयार गरेको कांग्रेसको निर्वाचन समितिले बिहीबार मिति संशोधन गर्दै २४ देखि २६ मङ्सिरसम्मको कार्यतालिका प्रकाशित गरेको हो ।
प्रकाशित कार्यतालिका अनुसार सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा गरी १२ जिल्लामा वडा अधिवेशन २७ कार्तिकका लागि तय गरिएको छ । नयाँ कार्यतालिकामा रसुवा र रौतहटको अधिवेशन भने कहिले हुने अझै अनिश्चित छ ।
यसैगरी ती १२ जिल्लामा पालिका अधिवेशन ३० कार्तिकका लागि तय गरिएको छ भने ती सबै जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन ३ मङ्सिरमा हुनेछ ।
यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन ६ मङ्सिर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मङ्सिरका लागि तय गरिएको छ ।
यसैगरी सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन २७ कार्तिकमा, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १ मङ्सिरमा हुनेछ ।
यस्तै जुम्लामा जिल्ला अधिवेशन १ मङ्सिरमा नै हुनेछ ।
यसैगरी पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर , भक्तपुर, ललितपुर, काठमाडौं लगायतका ४६ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन ३ मङ्सिरमा, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा ६ मङ्सिर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मङ्सिरमा तय गरिएको छ ।
यसैगरी सातै प्रदेशमा प्रदेश अधिवेशन १६ र १७ मङ्सिरमा तथा केन्द्रीय महाधिवेशन २४,२५ र २६ मङ्सिरमा हुने निर्वाचन समितिले जनाएको छ ।