- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमालेभित्र दश बुँदे सहमतिलाई सबै स्थानमा कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका उपाध्यक्ष भीम रावलले पार्टी विरोधी गतिविधि, गुटबन्दी र विभाजनकारी क्रियाकलापको अन्त्य गरी पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने प्रयत्न असफल भएको र त्यसमा मूलतः केपी ओली गम्भीर नभएको आरोप लगाउँदै राजीनामा दिएका छन् ।
करिब चार हजार शब्दको राजीनामा पत्रमा उनले मूल नेतृत्व जिम्मेवार नभएको आरोप लगाएका हुन् । नेकपा (एमाले)मा उत्पन्न अन्तरविरोध र समस्या समाधान गर्ने उद्देश्यका साथ १० बुँदे सहमति भएको थियो । पार्टीका दुईजना वरिष्ठ नेताहरु सहित एउटा पंक्ति पार्टीबाट अलग भएपनि उक्त सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट पार्टीलाई जोगाउन केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमतिलाई अनुमोदन गर्नुका साथै कार्यान्वय गर्ने निर्णय गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारी भएको थियो ।
त्यसको कार्यान्वयनमा उत्पन्न हुनसक्ने समस्याको समाधानमा भूमिका खेल्न कार्यदल गठन भएको थियो । कार्यदल गठन हुँदा संयोजक नतोकिए पनि यसबारे मैंले नै स्थायी कमिटीमा कुरा उठाएपछि म संयोजकमा रहने निर्णय पछि मात्र भएको थियो । नेकपा (एमाले) को सिङ्गो पंक्ति मात्र होइन वामपन्थी क्षेत्र र जनताको समेत चासो रहेको पार्टी एकताको लागि काम गर्नुपर्नेमा त्यसो हुन नसकेको आरोप रावलले लगाएका छन् ।
‘पार्टीको एकता र अग्रगतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनका निम्ति जारी अपानि–१२ को, कार्यदलका सुझाव र सहमतिसहित पालना गराउने तर्फ स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिकरुपमा मात्र होइन पार्टीको स्थायी कमिटीको बैठकमा नै अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नदेखिदा स्थायी कमिटीको बैठकमा गरेको घोषणा अनुरुप कार्यदलको संयोजक र सदस्यबाट यो राजीनामा पेश गरेको छु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ‘कार्यदलको बैठकमा अपानि-१२ को कार्यान्वयनमा देखिएका समस्याहरु समाधान हुनपर्छ र १० बुँदे सहमति लागु हुनुपर्छ भन्ने निर्णय पनि भए । तर ती निर्णयको कार्यान्वयन भएन । सुदूरपश्चिम प्रदेशको हकमा सहजकर्ता स्तरमा पनि पटक-पटक बैठक र छलफल भए । तर समस्याको समाधान भएन ।’