लक्ष्मी पूजाको अवसर पारेर रेडियो काठमाण्डुले आफ्नो क्षमता बढायो
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
479
Shares
काठमाडौं । ‘परिवर्तन सम्भव छ’ भन्ने मूल नाराका साथ काठमाडौंको चाबहिलबाट प्रसारण भइरहेको रेडियो काठमाण्डुले आफ्नो क्षमता बृद्धि गरेको छ ।
९२.१ मेगाहर्जमा घन्किने उक्त रेडियोले प्रसारण क्षमता बढाएर एक हजार वाट पुर्याएको छ । यसअघि यो एफएम पाँच सय वाटमा प्रशारण हुँदै आएको थियो ।
२०७३ साल बैशाख १ गतेबाट औपचारिक प्रसारण सुरु गरेको रेडियो काठमाण्डुले लक्ष्मीपूजाको दिनदेखि औपचारिक रुपमा एक हजार वाट क्षमताबाट प्रसारण सुरु गरेको हो ।
हाम्रो ब्रोडकास्टिङ कम्पनी मार्फत संचालित उक्त रेडियोका अध्यक्ष युपी लामिछानेले रेडियो काठमाण्डु अहिलेको डिजिटल युगमा एफएम फ्रिक्वेन्सीमा सुन्न मात्रै होइन, हेर्न र पढ्नसमेत सकिने बताउँदै एफएम फ्रिक्वेन्सीसँगै रेडियो काठमाण्डु डटकम र फेसबुकमा समेत प्रत्यक्ष प्रसारण गर्ने पहिलो रेडियो भएको दाबी गरेका छन् ।
अध्यक्ष लामिछानेले एक विज्ञप्ति जारी गर्दै रेडियोले प्रत्येक घण्टा समाचार, स्रोताको रोजाइअनुसारका सूचनामुलक, शिक्षामुलक, मनोरञ्जनात्मक र विभिन्न भाषाभाषीका कार्यक्रम प्रसारण गर्दै आएको जनाएका छन् । रेडियो काठमाण्डु एफएम ब्याण्डको ९२.१ मेगाहर्जसँगै रेडियो काठमाण्डु डटकम र फेसबुकमा समेत प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।