विवेकशील साझा पार्टीले भन्यो: 'पार्टीको बहुमत र आयोगको निर्णयलाई सम्मान गर्नुहोस'
केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या १२४ कायम
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
668
Shares
काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या १२४ कायम गरेको छ ।
उक्त पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार गत कार्तिक ११ गते अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले अन्य निर्णयहरूका अलावा दुई(तिहाइ भन्दा बढी मतका साथ पार्टीको नयाँ विधान पारित गरेको साथै, केन्द्रीय समिति सदस्यहरूको सङ्ख्या (५ जनाको राजीनामा र एक जनाको देहावसानका कारण) अब १२४ रहेको जानकारी गराएका छन् ।
उक्त बारे निर्वाचन आयोगलाई जानकारी गराई आयोगको रेकर्ड अद्यावधिक गराइएको पनि उनले जानकारी दिएका छन् । कात्तिक १७ गते बुधवार निर्वाचन आयोगले कानुन बमोजिम “विवेकशील साझा पार्टीको विधान २०७८” र केन्द्रीय समितिमा हेरफेर भएको विवरण सदर गरी आयोगको रेकर्ड अद्यावधिक गरेको जानकारी दिएको प्रवक्ता पाठकले जानकारी गराएका छन् ।
विहीबार प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै अब उप्रान्त पार्टीको काम कारबाही नयाँ विधान अनुरूप अघि बढ्ने र केन्द्रीय समितिको कूल सदस्य सङ्ख्या १२४ मानिने उल्लेख गरेका छन् ।
साथै उनले अब पार्टीको काम कारबाही अघि बढाउन कुनै कानुनी अवरोध नरहेको र अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका सदस्यहरुलाई विमति भए पनि केन्द्रीय समितिको अत्याधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न अनुरोध गरेका छन् ।