- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्रीमद्भागवत गीता वैदिक सनातन धर्मको पौराणिक ग्रन्थ हो ।आजभन्दा पाँच हजार वर्ष पहिले महर्षि वेदव्यासद्वारा यो ग्रन्थ रचना गरिएको थियो ।यो ग्रन्थ महाभारतको युद्धमा श्रीकृष्ण र उनका सारथी अर्जुन बीचको सम्वाद हो । गीतामा १८ अध्याय र सात सय श्लोक छन् । यसमा के छ भनेर सोधिएको प्रश्नको उत्तर एक वाक्य वा अनुच्छेदमा दिन सकिँदैन । यो एउटा अद्भूत र प्रसिद्ध ग्रन्थ हो ।
यसमा जीवन र जगतलाई विभिन्न आयामबाट विश्लेषण गरिएको छ । यसको मूल कृति संस्कृत भाषामा लेखिएको छ । गीतालाई संसारका लगभग एक सय भाषामा भावानुवाद, श्लोकानुवाद गरिएको छ । यस ग्रन्थमा निराशामय भएर बाँच्ने आजको मनुष्यलाई शान्त र सुखपूर्वक जीवनयापन गर्न सकिने थुप्रै उपायहरू बताइएका छन् ।
गीतामा रहेका १८ अध्यायको संक्षिप्त सार यस्तो छ–
पहिलो अध्यायः यस अध्यायमा ४६ श्लोक छन् । यसमा अर्जुनको मनस्थितिको वर्णन गरिएको छ। अर्जुन आफन्तसँग युद्ध गर्न डराउँछ्न् अनि कृष्णले सम्झाइ नडराउन आग्रह गर्छन् ।
दोस्रो अध्यायः यस अध्यायमा ७२ श्लोक छन् । दोस्रो अध्याय गीताको महत्त्वपूर्ण र सार अध्यायका रुपमा लिइन्छ । यसमा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग, सांख्ययोग, बुद्धियोग र आत्माको ज्ञान दिएका छन् । आशाले दुःख र चिन्ता निम्त्याउने हुँदा आशावादी नभई कर्म गर्ने सुझाव दिइएको छ।
तेस्रो अध्यायः यसमा कर्मयोगको वर्णन गरिएको छ । परिणामको चिन्ता नगरी कर्म गर्नु पर्ने सन्देश दिइएको छ ।
चौथो अध्यायः यसमा ४२ श्लोक छन् । यस अध्यायमा ज्ञान, कर्म र संन्यास योगको चर्चा छ । श्रीकृष्णले अर्जुनलाई धर्मपरायण संरक्षण र अधर्मीको विनाशको लागि गुरुको अत्यधिक महत्त्व रहेको कुरा बताएका छन् ।
पाँचौं अध्यायः यसमा २९ श्लोक छन् । यसमा अर्जुनले श्रीकृष्णलाई कर्म र ज्ञान योगमा कुन उत्तम भनेर सोध्छन् र त्यसमा श्रीकृष्णले दुवै एउटै हो भन्छन् अनि यसमा कर्म अभिनयका लागि उत्तम हो भन्छन् ।
छैटौं अध्यायः यसमा ४७ श्लोक छन् । यसमा आत्मसंयम योगको महत्त्वका बारेमा वर्णन गरिएको छ । श्रीकृष्णले अष्टाङ्ग योग बताएका छन् । यी योगबाट मनको द्विविधा हटाएर महारथ प्राप्त गर्न सकिन्छ भनिएको छ ।
सातौं अध्यायः यसमा ३० श्लोक छन् । यसमा ज्ञान विज्ञान योगको उपदेश दिइएको छ । यसमा श्रीकृष्णले अर्जुनलाई निरपेक्ष वास्तविकता र त्यसको भ्रामक उर्जा, माया र मोह के हो भन्ने कुरा व्यक्त गरेका छन् ।
आठौँ अध्यायः २८ श्लोकमा समेटिएको छ । यस अध्यायमा अक्षर ब्रह्मयोगको चर्चा छ । यसमा स्वर्ग र नर्कको चर्चा छ । श्रीकृष्णले स्वर्ग र नर्क कसरी गइन्छ भन्ने कुरा व्यक्त गरेका छन् ।
नवौं अध्यायः यस अध्यायमा राज विद्याराज गृह्य योगको चर्चा छ । ३४ श्लोकमा रचित यस अध्यायमा आन्तरिक ऊर्जाले सृष्टिलाई व्याप्त बनाउँछ । सिर्जना गर्छ र पूरा ब्रह्माण्ड नष्ट पनि गर्छ भनिएको छ ।
दशौं अध्यायः ४२ श्लोकमा निर्मित यस अध्यायमा विभूति योगको वर्णन गरिएको छ ।
एघारौं अध्यायः यसमा विश्वरुप दर्शन योगको वर्णन छ । यसमा ५५ श्लोक छन् । अर्जुनको निवेदनमा श्रीकृष्णले विश्वरुप धारण गर्छन् ।
बाह्रौं अध्यायः २० श्लोक रहेको यस अध्यायमा श्रीकृष्णले भक्त्तिमार्गको महिमा बताएका छन् ।
तेह्रौं अध्यायः ३५ श्लोक रहेको यस अध्यायमा श्रीकृष्णले अर्जुनलाई क्षेत्र र क्षेत्रज्ञ ज्ञानको महत्त्व बताएका छन् । यसमा सत्व, रज, तम गुणद्वारा अर्को जुनि हुनको लागि आग्रह गरिएको छ।
चौधौं अध्यायः २७ श्लोकमा सत्व, रज र तम गुण तथा मनुष्यको उत्तम, मध्यम र अन्त्य गतिको वर्णन छ ।
पन्ध्रौं अध्यायः यसमा पुरुषोत्तम योगको चर्चा छ । २० श्लोकमा ज्ञानी र अज्ञानी पुरुषको चर्चा गरिएको छ ।
सोह्रौं अध्यायः यसमा २० श्लोक छन् । दैवी र आसुरी पुरुषको लक्षण बताइएको छ।
सत्रौं अध्यायः २८ श्लोक रहेको यस अध्यायमा शास्त्र, यज्ञ, पूजा, श्रद्धा, विधिको बारेमा वर्णन गरिएको छ ।
अठारौं अध्यायः यो अध्याय सबै अध्यायको सारांश हो । यसमा न्यास अर्थात् ज्ञानयोग र त्याग अर्थात् फलाशक्तिरहित कर्मयोगको के हो भन्ने जिज्ञासा छ । यसमा ७८ श्लोक रहेका छन् ।
गीता एउटा प्रसिद्ध र पवित्र ग्रन्थ हो । यो एउटा हिन्दूको मात्र धर्म ग्रन्थ नभएर सबैको जीवन दर्शन ग्रन्थको रुपमा स्थापित भएको छ । गीतामा के छ भन्नु भन्दा पनि गीतामा के छैन भन्ने प्रश्न उठाउन सकिन्छ । जीवन, जगत, रहस्य, धर्म, कर्म, दुःख, सुख, माया, मोह, अहंकार, ज्ञान, विज्ञान आदि जीवन जगतका थुप्रै विषय गीतामा छन् ।
हाम्रो जीवनसँग जोडिएका हरेक प्रश्नको उत्तर गीतामा पाइन्छ । सात सय श्लोकमा संरचित गीतामा ज्ञानयोग, कर्मयोग, भक्तियोग, राजयोग, सांख्ययोग, ध्यानयोग, ज्ञानविज्ञान योग, भक्तियोग, पुरुषोत्तम योग आदि थुप्रै योगको महत्त्व र चर्चा गरिएको छ।
गीतबाट गीता बनेको यसमा देवताको गीत वा गायन वा भनाइ नै छ । व्यास रचित महाभारतमा कौरब र पाण्डवको १८ दिनको युद्धको वर्णन गरेर १८ पर्वलाई १८ अध्याय नै बनाइएको छ । यसैको सारको रुपमा गीतामा पनि १८ अध्याय नै बनाइएको छ ।
गीताका हरेक श्लोकहरू दार्शनिक छन् । ज्ञान भनेको के हो, कसरी ज्ञानी बन्न सकिन्छ । कर्म भनेको के हो र योगले मान्छेलाई कसरी सुखी र खुशी हुन सकिन्छ अनि दुस्ख केहो र यसको निवारण उपायका बारेमा गीतामा प्रष्ट बताइएको छ ।
गीतामा आत्मा र शरीरको बनोटको चर्चा गर्दै भनिएको छ–आत्मा कहिल्यै मर्दैन र कसैले केही गरी मार्न पनि सक्दैन । मर्ने भनेको केबल शरीर मात्र हो । शरीर भनेको पुरानो कपडा त्यागे जस्तै त्याग्ने हो ।
शरीर नाशवान हो । आत्मा अविनाशी हो । शरीरलाई सर्वस्व ठान्दा जीवन दुखी हुनुपर्छ, यो पुरानो कपडा फालेजस्तै हो, नश्वर शरीर ढल्दा शोक गर्नु हुँदैन भन्ने धारणा गीतामा छ।मान्छे दुखी हुने भनेको भोलिले गर्दा हो,परिणाम के होलाले चिन्तित छ। आत्मा मर्दैन भनेर विज्ञानले समेत प्रमाणित गरिसकेको छ ।
गीतालाई मोक्षशास्त्र पनि भनिन्छ । मान्छे बाँचुञ्जेल तछाड र मछाड गर्नु, केहीले नपुग्नु, दुस्खी र चिन्तित हुनु भनेको जीवनलाई बुझ्न नसकेर नै हो । खाली हात आएको हो खाली हात नै जाने हो । जब आशक्तिरहित बाँचिन्छ अनि जीवन खुशी र सुखी हुन सकिन्छ ।
गीताको महत्त्वपूर्ण पक्ष भनेको जो कोहीको लागि हरेक किसिमका शिक्षा ग्रहण गर्न सक्नु हो । गीता आध्यात्मिक ज्ञान पाइने ग्रन्थ मात्र नभएर भौतिक ज्ञान पाइने एउटा उत्कृष्ट ग्रन्थ पनि मानिन्छ । आधुनिक विश्व प्रसिद्ध दार्शनिक र वैज्ञानिकहरूले गीताको खुलेर प्रशंसा गरेका छन् ।
गीताको अनुशीलन गर्न सक्ने हो भने हाम्रो देश नेपाल समृद्ध हुन्छ । गीतामा श्रीकृष्णले अर्जुनलाई दिएका सुझावका विषय धर्म, कर्म, नियम, ज्ञान र योग नै पश्चिमी मुलुकका विकासका सूत्र हुन् ।
श्रीमद्भागवत गीतालाई धेरै विद्वानले विश्लेषण र शोध गरे तापनि यसको खास सही अर्थ यही नै हो भनेर खुट्याउन अझै जटिल छ । जसले गीता बुझ्न सक्छ उसले अन्तिम सत्यको अनुभव पनि गर्न सक्छ भनिएको छ । गीतालाई सर्वशास्त्रमयी ग्रन्थ पनि भनिन्छ । मानिस आफ्नो कर्तव्यमा अडिग रहनुपर्छ जित अवश्य हुन्छ भनिएको छ ।
अर्जुनले पनि अन्ततः युद्ध जितेका थिए । जीवनको यात्राको बाटो देखाउन गुरुको ठूलो भूमिका हुन्छ । त्यसकारण गुरुलाई सधै सम्मान र सत्कार गरिनुपर्छ भनिएको छ ।
मानिसले स्वर्गको यात्राको लागि क्रोध, वासना र लालचालाई त्याग्नुपर्छ । जीवनमा सुखका धेरै उपाय छन् । त्यसमध्ये पनि धर्म र कर्म मुख्य उपाय हुन् भनी गीतामा बताइएको छ । जय धर्म ! जय कर्म ! जय गीता !