arrow

प्रधानसेनापति शर्मा भारतमा, बुधबार मानार्थ महारथीको पदवी पाउँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
Prabhuram-sharma-army-chief.jpg
तस्वीर–फाइल ।

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारत गएका छन् । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द (एमएम) नरवणेको औपचारिक निमन्त्रणामा उनी मंगलबार बिहान भारत गएका हुन् । 

चार दिने औपचारिक भ्रमणका क्रममा राजधानी दिल्ली गएका शर्माले भारतबाट पाउने मानार्थ महारथीको पदवी पाउने छन् । नेपाल र भारतका सेनाबीचको सम्बन्ध बलियो बनाउन एक अर्काले यो पदवी दिँदै आएका छन् । 

नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा  पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।

शर्मालाई बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शर्मा प्रधानसेनापति भएपछि पहिलो पटक विदेश भ्रमणमा गएका हुन् । नौ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै गएका शर्माले मंगलबारै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भीआर चौधरीसँग भेटघाट गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । 

शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् । 

नरवणे भने गत वर्ष कार्तिक १९ गते तीन दिने भ्रमणमा नेपाल आएर मानार्थ महारथीको पदवी ग्रहण गरेका थिए ।

उनलाई २०७७ को  कार्तिक २० गते राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी को दर्जा प्रदान गरेकी थिइन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ