arrow

‘गणेशमान कांग्रेस र कम्युनिष्टलाई एकै डुंगामा चढाएर आन्दोलन हाँक्ने क्षमता राख्ने नेता’

पोखरामा गणेशमानको स्मरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
ganesh man.jpg

पोखरा । जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्ती पोखरामा मनाइएको छ । 

जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउण्डेशनले पोखरामा आयोजना गरेको कार्यक्रममा स्व. सिंहको योगदानको चर्चा गरिँदै उनको शालिकमा माल्यार्पण गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व. सिंहको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे । 

यातनासहित पटक पटक निर्वासन र जेल जीवन बिताउँदा समेत सिंहले नेपाली जनतालाई सार्वभौम बनाउने लोकतान्त्रिक आन्दोलनबाट कहिल्यै विश्राम नलिएको प्रदेश प्रमुख गुरुङले बताए ।

विपरित धारमा रहेका कांग्रेस र कम्युनिष्टहरुलाई प्रजातान्त्रिक आन्दोलनमा एक साथ उभ्याउन सिंहले २०४६ सालमा निर्वाह गरेको भूमिका अविस्मरणीय उनले स्पष्ट पारे । ‘स्व. सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो’, उनले भने ।

कास्की कांग्रेसका नेता शुक्रराज शर्माले सर्वमान्य नेता सिंहले ०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घच्याएको सम्झना गरे । 

कांग्रेस र कम्युनिष्टलाई एकै डुंगामा चढाएर आन्दोलन हाँक्ने क्षमता राख्ने सिंहजस्ता व्यक्तित्वको अभाव आजका दिनमा झनै खड्किरहेको उनले बताए । नेपाली कांग्रेसका सभापति कृष्ण केसीले पार्टी महाधिवेशमा होमिएकाले नेता कार्यकर्ताहरु जिम्मेवार र जुझबुझपूर्ण ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

गणेशमान सिंह फाउण्डेशनमा अध्यक्ष खेमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका संसदीय मामिला तथा कानून मन्त्री विन्दुकुमार थापा, वडाध्यक्ष रवीन्द्रबहादुर प्रजू, शालिक निर्माण समितिका संयोजक निर्मल प्रसाद कर्माचार्य, संस्थाका सचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष सुनयना पालिखे लगायतले नेता सिंहको सम्झना गरेका थिए । 

वि.सं. १९७२ कात्तिक २४ गते जन्मिएका लौहपुरुष सिंहको २०५४ असोज २ गते निधन भएको थियो । गणेशमान सिंह नेपालका वरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी ।

काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई सर्मपण गराए । भद्रगोल जेल तोडेर भागेका गणेशमान प्रबास जानु अघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए ।

भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो । नेपाली राजनीतिमा गरेको सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न कार्यक्रम गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ